लेटाङ । लेटाङ नगरपालिका-८ स्थित जाँते स्वास्थ्य चौकीको प्रयोगशाला सेवा बन्द गरिएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारप्रति लेटाङ नगरपालिकाले गम्भीर आपत्ति जनाउँदै सेवा बन्द गर्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।
नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीद्वारा जारी प्रेस विज्ञप्तिमा गत साउन १५ गते बसेको नगर कार्यपालिकाको बैठकमा वडा नम्बर ८ का अध्यक्षको प्रस्तावमा जाँते स्वास्थ्य चौकीको प्रयोगशाला सेवाका विषयमा सामान्य छलफल भए पनि सेवा बन्द गर्ने वा नगर्ने सम्बन्धमा कुनै निर्णय नभएको उल्लेख गरिएको छ । बैठकको प्रमाणित निर्णयसमेत नगरपालिकाको आधिकारिक वेबसाइटमा सार्वजनिक भइसकेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार विभिन्न बैठकमा वडा नम्बर ८ का अध्यक्ष भीमप्रसाद पोख्रेलले स्वास्थ्य चौकीमा सेवाग्राहीको न्यून उपस्थिति, स्वास्थ्य बिमा तथा सुविधा सम्पन्न सेवाका लागि नगर अस्पताल वा निजी क्लिनिक जाने प्रवृत्तिका कारण प्रयोगशाला सेवा सञ्चालनमा देखिएको चुनौतीबारे विषय उठाउँदै आएका थिए । तर, सेवा बन्द गर्ने निष्कर्षमा भने कार्यपालिका नपुगेको नगरपालिकाको भनाइ छ ।
नागरिकले पाइरहेको स्वास्थ्य सेवा हतारमा बन्द गर्नुको सट्टा प्रयोगशाला सेवामा सेवाग्राहीको वास्तविक अवस्था बुझ्न स्वास्थ्य चौकी प्रमुखसँग अभिलेख माग गरी अध्ययन भइरहेको नगरपालिकाले जनाएको छ । यसै विषयमा भदौ ५ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रयोगशाला सेवामा सेवाग्राहीको कमी हुनुका कारण र सेवाग्राही वृद्धि गर्ने उपाय पहिचान गरी प्रतिवेदन पेस गर्न अध्ययन समिति गठन गरेको छ ।
यसअघि भदौ १ गते स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ८ का अध्यक्ष भीमप्रसाद पोख्रेल र स्वास्थ्य चौकी प्रमुख फूलमाया स्थानीय सरकार नेपालीको संयुक्त हस्ताक्षरमा प्रयोगशाला सेवा बन्दसम्बन्धी सूचना सार्वजनिक भएको विषयमा समेत नगरपालिकाले आपत्ति जनाएको छ । नगरपालिकाले कार्यपालिकाको आधिकारिक निर्णयबिना सेवा बन्द भएको सूचना सार्वजनिक गर्नु तथ्यहीन र गैरजिम्मेवारपूर्ण भएको दाबी गरेको छ ।
त्यस्तै, सामाजिक सञ्जालमा आएको सूचनाका आधारमा मोरङ क्षेत्र नम्बर १ का सांसद यज्ञमणि न्यौपानेले संसद्मा जाँते स्वास्थ्य चौकी नै बन्द गरिएको भन्ने अभिव्यक्ति दिएकोप्रति पनि नगरपालिकाले असन्तुष्टि जनाएको छ । नगरपालिकाले तथ्य र आधिकारिक जानकारीका आधारमा मात्र सार्वजनिक अभिव्यक्ति दिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
नगरपालिकाले अध्ययन समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसका आधारमा आगामी कार्यपालिका बैठकबाट मात्र जाँते स्वास्थ्य चौकीको प्रयोगशाला सेवाका सम्बन्धमा आवश्यक निर्णय गरिने स्पष्ट पारेको छ । नागरिकलाई सर्वसुलभ, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै नगर प्रमुख लावतीले सञ्चारकर्मी, नगरवासी तथा सम्पूर्ण सरोकारवालालाई तथ्यहीन प्रचारको पछि नलाग्न आग्रह गरेका छन् ।


