मणिराम दाहाल – सुन्दरहरैँचा । नेपाल ललितकला प्रतिष्ठान तथा बेलबारी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रादेशिक ललितकला प्रदर्शनी सुरूभएको छ। बेलबारी १ स्थित तमु बौद्धष्ट गुम्बामा शुक्रवारबाट सुरु भएको प्रदर्शनी आगामी २० गतेसम्म जारी रहनेछ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक विशेष समारोहका बिच प्रदर्शनीको उद्घाटन गरेका थिए । प्रदर्शनी अवलोकनपछि कलाकारहरूको सिर्जनालाई प्रशंसा गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले यस्ता सृजनात्मक प्रयासहरूलाई समर्थन गर्ने प्रतिबद्धता जनाए।
प्रदर्शनीमा नेपालको प्राकृतिक सौन्दर्य, संस्कृतिको झल्को दिने चित्रकला, सामाजिक यथार्थ झल्काउने डिजिटल आर्ट र परम्परागत मूर्तिकलाहरू मुख्य आकर्षणका रूपमा राखिएका छन्। कार्यक्रमको अवसरमा कलाकार अनुराधासिंह थापा विराटनगर , डिल्लीकृष्ण आले धनकुटा , पवन राजवंशी झापा, किन्थल खवास बेलबारी ,कृष्णभक्त गजमेर पथरी शनिश्चरेलाई योगदानको आधारमा विशेष सम्मान गरिएको थियो । परिषद् सदस्य तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान कोशी प्रदेश संयोजक सञ्जय बान्तवाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन जेबी थुलुङले गरेका थिए ।