बेलबारी । मोरङको बेलबारी नगरपालिका-११, लक्ष्मीमार्गमा सम्पन्न प्रथम लक्ष्मीमार्ग खुला र्यापिड बुद्धिचाल प्रतियोगिता-२०८३ को उपाधि झापाको दमकका प्रकाशचन्द्र नेपालले जितेका छन् । हाइवे फुटबल क्लब बेलबारी-११, लक्ष्मीमार्गको आयोजनामा कात्तिक १४ गते गुरुङ गुम्बा, लक्ष्मीमार्गमा सम्पन्न प्रतियोगितामा नेपालले नौ चरणबाट ८ अंक जोड्दै अपराजित रूपमा उपाधि हात पारेका हुन् । उनले सात खेलमा जित र दुई खेलमा बराबरी गरेका थिए ।

प्रतियोगितामा पाँचथरका रिसन थापा ७.५ अंकसहित दोस्रो भए । उनी राजन सुवेदीसँग पराजित भएका थिए भने उपाधि विजेता नेपालसँग बराबरी खेलेका थिए। खोटाङका धिरेन राई ७ अंकसहित तेस्रो स्थानमा रहे । समान ७ अंक जोडेका इनरुवाका राजनकुमार पोखरेल चौथो र बिर्तामोडका ज्वाला इम्बुङ पाँचौँ भए ।

त्यसै गरी धरानका मुहान नरसिंह श्रेष्ठ ६.५ अंकसहित छैटौँ, पथरीका तीर्थराज सुब्बा सातौँ, विराटनगरका उमेश राई आठौँ, दमकका सुमन श्रेष्ठ नवौँ र धरानका विष्णु लिम्बू दशौँ स्थानमा रहे । प्रतियोगितामा ८० जना खेलाडी सहभागी भएका थिए । नौ चरणको स्विस लिग प्रणालीमा सञ्चालन गरिएको प्रतियोगितामा खुलातर्फका उत्कृष्ट खेलाडीसँगै विभिन्न विधामा पनि खेलाडीलाई पुरस्कृत गरिएको थियो ।

विधागततर्फ महिला प्रथम दमककी कृतिसरा अधिकारी र महिला दोस्रो दमककी पूजा भण्डारी भए । भेट्रानतर्फ दमकका बसन्त लामा, १७०० मुनि रेटिङतर्फ धरानका पवन पौडेल, १६०० मुनि रेटिङतर्फ सुन्दरहरैँचाका लुमाहाङ कुलुङ, अनरेटेडतर्फ बेलबारीका चन्द्रकुमार तुम्बापो र यू-१६ तर्फ दमकका महेश दवाडी विजयी भए ।

त्यस्तै, बेलबारी उत्कृष्ट खेलाडीतर्फ बेलबारी-३ का मनोज गुरुङ घोषित भए । स्थानीयस्तरमा बुद्धिचाल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।








