बेलबारी । मोरङको बेलबारी-२ स्थित बागदेवी खेलमैदानमा सञ्चालन भएको प्रथम लालभित्ती भेट्रान फुटबल प्रतियोगिता-२०८३ को उपाधि डुडामारी भेट्रान फुटबल क्लब झापाले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा डुडामारीले दमक भेट्रान झापालाई ४-० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

फाइनलमा डुडामारीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै दमकमाथि दबाब बनाएको थियो । खेलमा चार गोल गर्न सफल डुडामारीले दमकलाई कुनै गोल गर्न नदिँदै फराकिलो जित निकाल्यो । यसअघि डुडामारीले सेमिफाइनलमा ढल्के जोबन उर्लाबारी भेट्रानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेता डुडामारीले नगद ५१ हजार रुपैयाँ तथा उपविजेता दमक भेट्रानले ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । आयोजकले प्रतियोगिताको सुरुवातमै विजेतालाई ५१ हजार र उपविजेतालाई ३१ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

फाइनल खेलमा डुडामारीका जर्सी नम्बर ९ का खेम लिम्बू म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा समेत सम्मान गरिएको छ। म्यान अफ द सिरिज सन्तोष राई घोषित हुँदा सर्वाधिक गोलकर्ता खेम लिम्बू र श्याम लिम्बू बनेका छन् ।

त्यसै गरी बेस्ट किपर रूपक गुरुङ, बेस्ट डिफेन्स सन्तोष बस्नेत, बेस्ट मिडफिल्डर कुमार गिरी, बेस्ट फरवार्ड विकास राई र बेस्ट कोच सुरज सुब्बा घोषित भएका छन् । प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले विजेता तथा उपविजेता टोलीलाई ट्रफी तथा मेडल हस्तान्तरण गरे ।

लालभित्ती भेट्रान फुटबल क्लब बेलबारी-२ को आयोजनामा असोज १ गतेदेखि १० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न स्थानका भेट्रान टोलीहरूको सहभागिता रहेको थियो । समापन कार्यक्रम क्लबका अध्यक्ष भीम राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन राजु परियारले गरेका थिए ।





