दीर्घकालीन लैङ्गिक समानता


कविता शर्मा –

सुन्दरहरैचा, २४ फागुन । राजनैतिक, आर्थिक, शारीरिक, मानसिक, वैचारिक र साङ्गठनिक रूपले सशक्त भई लैङ्गिक विभेद रहित, पूर्वाग्रहरहित समावेशी समाज निर्माण गर्न वास्तविक श्रमिक महिला दिदी बहिनीहरूसहित नारी दिवस मनाउन आवश्यक देखिन्छ । राष्ट्रिय जीवनका क्षेत्रहरूमा समान अधिकार स्थापित गर्न, प्रकृतिका सबै वस्तुहरूमा समान अधिकार र समान उपयोग गर्न, संविधानले उपलब्ध गराएका सबै अधिकरहरू व्यवहारमा कार्यान्वयन गर्न, राज्यका सबै अवयवहरूमा प्रमुख भूमिकामा रही नेतृत्व स्थापित गरी कानुन कार्यान्वयन गर्दै समतामूलक व्यवहार कार्यान्वयन गर्नु त्यतिकै चुनौतीपूर्ण काम हो ।

सामाजिक कुरीति विकृति विसङ्गति हटाउन, पितृसत्तात्मक सोच र गलत चिन्तनका अवशेषहरू निर्मूल गर्दै समाजलाई आमूल परिवर्तन गराउन, महिलालाई मर्यादित र सम्मानजनक जीवन जिउन सक्ने वातावरण सिर्जना गर्न, सामाजिक रूपमा पछाडि पारिएका सबै नारीहरूका माझ महिला अधिकार र कानुन कार्यान्वयन गर्न गराउन यो नारी दिवसको सुरुवात गरिएको हो । नारी प्रतिको पूर्वाग्रह तोडी समानताको आवाज बलियो बनाउने आवाज सहित २०७८ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै छ ।

महिला आन्दोलनको पहिलो सङ्गठित नेतृत्व जर्मन नागरिक क्लारा जेटकिनले गरेकी थिइन । सबैखाले शोषण र विभेदविरुद्धको आन्दोलितले १८९० मा जर्मन समाजवादी पार्टीले महिला स्वतन्त्रता र समान अधिकारसहितको समाजवादी कार्यक्रमलाई औपचारिक नीतिका रूपमा ऐतिहासिक निर्णय पारित गरेको थियो । आन्दोलनले प्राप्त गरेको संघर्ष र उपलब्धिलाई स्मरण गर्दै १९१० मा आयोजित समाजवादी महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनबाट मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा घोषणा गरेका थिए ।

नेपालको परिपेक्षमा हेर्ने हो भने आर्थिक राजनीतिक सामाजिक रूपान्तरणका लागि नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्थित गरिएको अवस्था छ । राज्यका सबै निकायहरूमा समानुपातिक समावेशी हुने हक सुनिश्चित गरिएको छ । संसदमा ३३ प्रतिशत स्थानीय पालिकामा ४१ प्रतिशत प्रतिनिधित्व निजामती तथा अन्य क्षेत्रमा पनि ३३ प्रतिशत सिट सुरक्षित गरी एसियामा नै महिलाहरूलाई विभिन्न स्थानमा उच्च सहभागिता प्रदान गर्ने मूलकमा पर्न गएता पनि सामाजिक संस्कार पितृसत्तात्मक सोच र चिन्तनका कारण कानुनको प्रभावकारी कार्यान्वयनमा हुन सकिरहेको छैन ।

आजका दिनसम्म महिला मुक्तिका लागि आवाज बुलन्द गर्ने तमाम ज्ञात अज्ञात नारीप्रति हार्दिक सलाम साथै कुनै पनि नारीले फक्रन नपाउँदै जबरजस्त कसैको उपभोग्य वस्तु र रिसिबी साध्ने साधन हुन नपारोस् राज्यका सबै पक्षको ध्यान जावस नारी सशक्तीकरणको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्