विराटनगर । मोरङ र सुनसरी जिल्लामा छुट्टाछुट्टै स्थानमा गरिएको प्रहरी कारबाहीमा लागू औषध ब्राउन सुगर र प्रतिबन्धित ट्याब्लेटसहित चार जना व्यक्तिलाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कार्तिक १३ गते विराटनगर महानगरपालिका-५ बरगाछी चोकमा चेकजाँचको क्रममा दुई व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका-१ का रुपेश कुलुङ र तेह्रथुमको छथर गाउँपालिका-३ का कर्ण सुनुवार रहेका छन्। उनीहरूकै साथबाट १२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यस्तै, सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित क्षेत्रमा गरिएको अर्को कारबाहीमा प्र.१-०२-००४ ह ८३३५ नम्बरको सिटी सफारीमा लुकाइ-छिपाइ ल्याउँदै गरेको अवस्थामा १२ हजार थान ट्रामाडोल ट्याब्लेट बरामद गरिएको छ। सो क्रममा सिटी सफारी चालक हरिनगर-५ का अख्तर अन्सारीसहित दुई जनालाई इलाका प्रहरी कार्यालय हरिनगरले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चारै जनामाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पछिल्ला दिनमा सीमावर्ती क्षेत्र र राजमार्ग हुँदै लागू औषध ओसारपसारका घटना बढ्दै गएपछि निगरानी र चेकजाँचलाई अझ कडा पारिएको छ।
 
          

 
                                                             
                        
                    