मृगौला फेल भई जीवन मरणसँग लडिरहेका रोशनको उपचारमा आर्थिक संकट : सहयोगको अपिल


सुनसरी । इटहरी उपमहानगरपालिका–५ बुद्ध टोलका ३२ वर्षीय रोशन चाहार अहिले जीवन र मृत्युको दोभानमा छन् । दुवै मृगौला फेल भएपछि उपचाररत उनी अहिले विराटनगरस्थित विराट टिचिङ अस्पतालमा जीवनका लागि लडिरहेका छन्

रोजगारीको सपना पूरा गर्न उनी करिब तीन वर्षअघि वैदेशिक रोजगारका लागि दुबई गएका थिए । परिवारको आर्थिक जिम्मेवारी बोकेर परदेश पुगेका रोशनको सपना भने चकनाचुर भयो । दुबईमै स्वास्थ्य बिग्रिएपछि, मृगौला फेल भएपछि उनी एक वर्षअघि उपचारका लागि नेपाल फर्कन बाध्य भए ।

हाल उनी मामाको घरमा बस्दै आएका छन् । उनको उपचार र हेरचाहको सम्पूर्ण जिम्मेवारी मामा हरि सुन्दास र हजुरआमा इन्द्रकुमारी सुन्दासले सम्हाल्दै आएका छन् । यद्यपि परिवारको साथ रहे पनि, उपचार खर्चका लागि उनीहरू असहाय बनेका छन् । रोशनका अनुसार उनका बुबाले उपचारमा सहयोग गरेका छैनन्, जसका कारण अवस्था झनै कठिन छ ।

डाक्टरहरूले तुरुन्त मृगौला प्रत्यारोपण गर्नुपर्ने निष्कर्ष दिएका छन्, तर त्यसका लागि ठुलो रकम आवश्यक छ । जुन रकम जुटाउन परिवार असमर्थ छ । शरीर सुनिँदै गएको, आँखामा पीडा र मनमा भयको छायाँ फैलिएको अवस्थामा पनि रोशनमा बाँच्ने अदम्य चाहना बाँकी छ ।

आँखा रसाउँदै रोशन भन्छन्“यदि सबैले सानो सहयोग गरेर साथ दिनुभयो भने म फेरि बाँच्न सक्छु, फेरि काम गर्न सक्छु।” उनको मामा हरि सुन्दासले भने, “हामीले सकेको सहयोग गरिरहेका छौँ, तर मृगौला प्रत्यारोपणको खर्च हाम्रो क्षमताभन्दा धेरै माथि छ। हामीलाई दातृ मनहरूबाट सानो सहयोगको अपेक्षा छ।”

समाजका सहयोगी मनहरू, दयालु व्यक्तिहरू, र मानवीय भावनामा विश्वास गर्ने जो कोहीका लागि अहिलेको समय रोशनका लागि जीवनदान बन्ने अवसर हो। रोशनको जीवन बचाउन सहयोग गर्न चाहनेले, ९७०१४२३४७१ मा सम्पर्क गरी सहयोग गर्न सक्नु हुने छ ।

( हजुरआमा इन्द्रकुमारी सुन्दास )

प्रतिक्रिया दिनुहोस्