कविता ‘असार पन्ध्र’ – नवशिला


(कविता) ‘असार पन्ध्र’


–नवशिला
मलाई थाहा छ छोरा
ज्येष्ठ महिनामा मकै भाँचे पछि
काले र हनुवा गोरु
नारेर जोत्दै जाँदा
लामा अनि तिखा मकैका ढोडहरूले
काटेका तेरा खुट्टाका पैतालाहरू
कति चहर्याउथे भन्ने कुरा –
हिलाम्मे खेतमा पाकेको भदै धान
असार महिनाको टन्टलापुर घाममा
तैँले …देब्रे हातले काटेर एक एक मुठ्ठी
आलिमा राखेर बिटो बनाउँदै
आली आली घरको आँगनसम्म पुग्दा
ती धानका नरुवाले पासेका तेरा पिँडुलाबाट
चर्रचर्र बगेका रगतको अनुभव छ मलाई –
भदै धान काटे पछि
त्यो नरुवा सहितको खेत जोत्दा
हलोमा लागेको लुँडीको गुजुल्टो
फाल्दा करुवाले तेरो पैताला तासेको
बिर्सेको छैन यो बुबाले
अनि बिर्सेको छैन त्यही लुँडी उचाल्दा
गानो सरेर काले डाक्टरकोबाट
झोल औषधि ल्याएर महिनौँ
खुवाएको तलाई –
मैले चवन्न सालमा अठ्तीस सय तिरेर
बेलबारी हटियाबाट ल्याएका हलगोरुलाई
तैँले जोत्न सिक्दै गर्दा
असारको मध्यमा फाली लागे पछि
झन्डै त्यस साल रोपाइँ न भा’को
याद छ मलाइँ
र तैँले पनि बिर्सेको छैनस् होला त्यो क्षण
हप्तौँ दिन लागेको थियो मलाई
माले गोरुको फाली लागेको खुट्टामा
तातो तेल र बेसार लगाएर निको पार्नलाई –
मसँगै तैँले असारे तातो पानीमा दिन भर जोतिरहँदा
हिलोले खाएर पाकेका औँलाहरूलाई
बेलुकी ग्वाली मुनि धुवाइएको धुँवामा
खुट्टा सेकाउँदै तेरी आमाले तेल लाइदिएको
सम्झना हराएका छैनन् होला आँखाबाट
कि बिर्सिस् ?
छोरा ! म सम्झन्छु ती दिन
अर्काको अधिया खेत जोतेरै भए पनि
सबैभन्दा ठूलो धानको कुन्यौ बनाएर
मसँगै तँ पनि कुन्यौको टुप्पोमा मखमली फूलको
डाँठ गाडेर ‘सह आइज …सह आइज’ भनेर कराएको क्षण
अनि
म गर्छु भन्दा भन्दै
आँगनको अगाडि खलो तास्न तम्सँदै गर्दा
फरुवाले तेरो पैताला तासे पछि
तेरी आमाले भूमिराज झार मिचेर
मजेत्रोले पैताला बाँधिदिए पछि
मलाई सन्चो भो भनेर भनेको तैँले
कसरी बिर्सन्छु र म –
छोरा ! तेरी आमाले गाई दुहुँदै गर्दा
खरेटो लिएर टुक्रुक्क बस्थिस्
गाईका खुट्टामा लागेको झिँगा धपाउन
दुध दुहीसके पछि चुल्होको छेवैमा बसेर
कुँडेमा टाँसिएको कुराउनीको माम्री
हेरिरहन्थिस् दुध नतातुन्जेलसम्म
छोरा तँलाई याद छ
खमारीको ठेकीमा माली गाईको दुध
जमेर बनेको दही
चोयाको डालामा झुसी अनदी धानका चिउरा –
तर छोरा तेरो…. परदेशसँगै बाँझिएको खेत
अनि धमिरा लागेकाछन् हलो, जुवा र पटाहामा
तेरो बुढो बाबुको शरीरजस्तै भएको छ बारी
हलगोरु, बाउसे र रोपाहार पाइदैनन् छोरा
अचेल त चामल, चिउरा र तेल पनि
प्याकेटमा फल्न थालेको छ
तँलाई असाध्यै मन पर्ने दही जम्ने ठेकीमा
कमिलाले फुल पारेको छ –
हो छोरा …आज असार पन्ध्र तैँले तेरो छोरालाई
पठाइदिएको फोटो देखिने मोबाइलमा
तैँले त्यता दही चिउरा खाएको तस्बिर देखेँ
खुशी लाग्यो कम्तीमा सबै दिन बिर्से पनि
यो दिन त सम्झेको रैछस् –
हुन त छोरा ! अर्को साल सम्ममा
हामीलाई त्यो ठूलो जहाज चढाएर
तेरो सपनाको सहर घुमाउन लैजान्छु भन्दैछस्
तर छोरा त्योभन्दा अगाडि
हाम्रो एउटा इच्छा छ
यो बन्जर बनेको खेतमा तेरो उपस्थितिसँगै
हिल्लामे भएको गरामा टिलपिल टल्किएको पानी
फ्याउरीले उँधोतिर पटाउँदै
बेठी लगाएर हली, बाउसे र रोपाहारसँगै बसेर
छुपु छुपु मन्सुली धान रोप्ने –
सिमल डाँडा र खोरिया टोलका बगानमा
फलेका माल्दह आँप तासेर
माली गाईको खाट्टी दुध जमाएर बनाएको दही
भदै धानका पातला चिउरामा मिसाएर खाने –
मातृभूमिको हिलो माटोको टिका लगाउने
हारियो धानको बिउ कानमा सिउरेर
असारे भाकामा कम्मर मर्काएर नाँच्ने
अनि किसानको दशैँ असार पन्ध्र मनाउने
के तँ पनि आउछस् त ती बिगत सम्झेर ?

ठेगानाः बेलबारी –२, लालभित्ती, मोरङ

प्रतिक्रिया दिनुहोस्