पूर्वसभामुख महराविरुद्ध ८ करोड बढी बिगो, अदालतको आदेशमा थुनामा पठाइयो : सुन काण्ड


काठमाडौं । विद्युतीय चुरोट (भेप)मा लुकाइएको सुन प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौँले मंगलबार र बुधवार दुई दिनसम्म चलेको थुनछेक बहसपछि महरालाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतको आदेशपछि उनलाई काठमाडौँको जगन्नाथदेवल (सुन्धारा) कारागारमा पठाइएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई गत आइतबार पक्राउ गरेको थियो । उनीमाथि विद्युतीय चुरोटमार्फत लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ ।

सीआईबीका अनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको एफजेट ०५८७ नम्बरको विमानबाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङको सुटकेसमा रहेको भेप भन्सारले नियन्त्रणमा लिएको थियो । पछि सो भेपभित्र ९ किलो सुन लुकाइएको खुलेको थियो ।

प्रहरीले लामो अनुसन्धानपछि भन्सारका कर्मचारीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अनुसन्धानकै क्रममा महराको नाम पनि सो प्रकरणमा जोडिएको थियो । अदालतमा दायर मुद्दा अनुसार, महरासँगै उनका छोरा राहुल महरा, साथै दावा छिरिङ, नीमा गुरुङ, र लोकेन्द्र पौडेललाई पनि मतियारका रूपमा मुद्दामा समावेश गरिएको छ ।

सीआईबीले महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो माग गर्दै ३ वर्षभन्दा बढी कैद सजायको दाबीसहित मुद्दा चलाएको हो ।

प्रतिक्रिया दिनुहोस्