तारा पराजुली –
उस्तै छ हिँडेको बाटो
जसरी बग्थ्यो उसै गरी बगेको छ पानी
बदलिएको छैन यावत् रङ्ग
फेरिएको छैन कुनै सुवास
चराहरू उसै गरी गाइरहेका छन् नबुझिने गीतहरू
हावा उहीँ गतिमा बहिरह्यो
सुसाउँदै कहिल्यै नथाकीकन
सबै उस्तै छन्
मात्र फरक अनुहार लिएर
आएको छ क्रूर समय
अनि लागिरहेछ यी सबै लयहरू बेलयजस्ता ।
गमलामा होस् या भीरमा
फुलेकै छन् त्यसरी नै
मुस्कुराउँदै फुले पनि
किन किन हिजोजस्ता छैनन्
यी फूलहरू पातहरू
पिरमा बाँचेकाहरू रोएकै
छन् आँखामा झरी बोकेर
तर खुल्न सकेको छैन
खुशीको आकाश
ओसिएको कागज जस्तो
करैले उडेको छ जीवनको चङ्गा
सबै सबै आफ्नै गतिमा चलेकै छन्
तर लाग्छ यो गोलो पृथ्वी पनि यति बेला
घुम्दाघुम्दै टक्क रोकिएको छ ।
कर्ममा विश्वास गर्नेहरू
अर्थात्
बेफुर्सदीहरु आफ्नै दिनचर्यामा व्यस्त छन्
डाह गर्नेहरू पुरानै घर छोडेका छैनन्
कुरा काट्नेहरूको बजार चलेकै छ
जे जसरी होस् जिन्दगी त चलाउनु रहेछ
चलाइरहेछन् आआफ्नै लयमा ।
ताराहरू रातमा चम्किएकै छन्
समयमै उदाउन र अस्ताउन भुलेको छैन घाम ।
तर किन किन शून्य शून्य लाग्छ यो ब्रह्माण्ड ?
नदीले धार भुलेजस्तो घामले चुरोट पिएर
तातो धुवाँ उज्यालोमा मिसाएजस्तो
हावाले बेस्सरी मदिरा पिएजस्तो
जुनले रातलाई विषादी घोलेर नुहाइदिएजस्तो
अनि समय आफैँ नाङ्गै नाचिरहेजस्तो
किन यस्तै यस्तै लाग्छ ?
समयको विषाक्त प्रहारले
हरेक दिन छाडिजानेहरूको लाम थपिँदै गएपछि
पटक पटक बेचयन बोकेर हिँड्दै गर्दा
निक्कै मुस्किलले बाँचेको हुँ म पनि
संसारको सबैभन्दा दुखको अनुहार भेटेपछि
एकोहोरो उच्छ्वासले लखेटिइरहँदा
अग्लो पहराको अन्तिम खण्डको ढुङ्गा हेरेर बलैले सास फेर्न सिकेको हुँ
र देखेको हुँ निदाउन
नसक्दा पनि एउटा जीवित सपना ।
जब आफ्नै आँखाअघि एक एक गर्दै
आँगनको असिना झैँ
बिलाउँदै गए प्रिय मान्छेहरू
शून्य सतहमाथि भत्किएर
छिनमै हराउँदै गरेको
बादलको घरजस्तै हराए कति कति सपनाहरू।
हिसाब गर्न सकिरहेको छैन हातहरू काँपिरहेछन्
कति छोटो समयमै यति विघ्न आफन्तहरू छोडिए
कतै मैले बाँच्दै गरेको शहरबाट
कतै हिंडदै गरेको आधा बाटोबाट ।
हेर्दाहेर्दै बोटबाट झर्दै गए
मायाले जोगाएका रङ्गीन फूलहरू
तिनकै सम्झनामा बगिरह्यो जीवन
हरदम हरदम आँखाबाट ।
जानेहरूले सबै सबै लिएर गए पनि
किन यति धेरै सम्झनामा आउँछन्
घरीघरी छोडी जानेहरू ?