बेलबारी, मोरङ । कथाकार ईरानराईको कथासङ्ग्रह ‘चुडेल्नी’ मा आधारित साहित्यिक परिचर्चा शुक्रवार बेलबारीमा सम्पन्न भएको छ । बेलबारी साहित्य विकास समिति र प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजना रहेको यो कार्यक्रममा कथासङ्ग्रहका शीर्षक कथा ‘चुडेल्नी’देखि लिएर ‘बोक्सी’, ‘बोक्सो’, ‘डङ्किनी’, ‘मुर्कुटा’, ‘राक्षसनी’लगायतका कथाहरूमा समाहित सामाजिक यथार्थ, मनोवैज्ञानिक द्वन्द्व, अन्धविश्वास, महिला–विभेद र वर्गीय शोषण जस्ता विषयहरूको गहन समीक्षा प्रस्तुत गरिएको थियो ।
कार्यक्रमकी प्रमुख परिचर्चाकार तथा बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले शीर्षक कथा ‘चुडेल्नी’को विमर्श गर्दै मनीषा नामकी पात्र महिलामाथि हुने मनोवैज्ञानिक, आर्थिक र शारीरिक उत्पीडनको प्रतिनिधि स्वरूप रहेको बताइन् । समाजले बनाएको ‘चुडेल्नी’ भन्ने कलंक कसरी महिलामाथि थोपरिन्छ भन्ने यथार्थवादी चित्रण कथाले गरेको उनको भनाइ थियो । सानै कारणमा सजाय दिएझैँ गरिने व्यवहारका विरुद्ध उभिएको नायक मोदनाथको मानवीय पक्षलाई सुवेदीले कथाको मुख्य बल भनेकी थिइन् ।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले ‘प्रेतात्मा’ कथामा प्रस्तुत गरिएको वैज्ञानिक दृष्टिकोणको प्रशंसा गर्दै विज्ञान र चिकित्साशास्त्रले अस्वीकार गरिसकेको विषयमा समाज किन अडिग रहन्छ भन्ने मनोविज्ञान कथाबाट प्रकट भएको बताए । परिचर्चाकार तथा संविधानसभा सदस्य रहेकी मधु गुरुङले ‘बोक्सी’ कथालाई लैङ्गिक विभेदसँग जोड्दै समाजले महिलालाई मात्र किन बोक्सी भन्छ तर पुरुषका लागि ‘बोक्सो’ भन्ने शब्द नै नबनाउनुका पछाडिका संरचनागत कारणहरू कथाले उजागर गरेको टिप्पणी गरिन् । उनले कथाले बोक्सीको कुनै वास्तविक अस्तित्व हुँदैन भन्ने निष्कर्षलाई समाजशास्त्रीय तरिकाले बलियो बनाएको बताइन् ।

स्रष्टा समाज, बेलबारीका अध्यक्ष जे.बी. थुलुङले ‘मुर्कुटा’ कथाले सशस्त्र द्वन्द्व र त्यसबिच गाँसिएका अन्धविश्वासका धागाहरूलाई चिरफार गरेको उल्लेख गरे । उनका अनुसार भूतप्रेतका कुरा प्राकृतिक भ्रम र मानसिक अवस्था भएको कथामा तार्किक ढङ्गले प्रस्तुत गरिएको छ । प्रलेस केन्द्रीय सदस्य तिला लेकालले ‘बोक्सो’ कथामा प्रस्तुत सुरक्षाकर्मीका केही विकृति, पद–दुरुपयोग र महिलाप्रति घृणित व्यवहारले कहिलेकाहीँ राज्य संयन्त्र कस्तो बोझिलो बन्न सक्छ भन्ने तथ्य उजागर गरेको बताइन् ।
‘डाइनी’ कथाबारे बोल्दै कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले शिक्षित समाजमा समेत विद्यमान विभेद र महिलालाई कमजोर देखाउने प्रवृत्तिले कथालाई अझ सान्दर्भिक बनाएको टिप्पणी गरे । यस्तै बेलबारी साहित्य विकास समितिकी उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले ‘डङ्किनी’ कथामा प्रस्तुत राजनीतिक मानसिकता र पदीय संरचनामा महिलालाई उपाध्यक्ष वा उपप्रमुखमै सीमित राख्न खोज्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको बताइन् ।
बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष धनजित पराजुलीले ‘झले कामी’ पात्रमार्फत श्रम–संस्कृतिको वास्तविक शक्ति उजागर गर्दै समाजले भूतप्रेत ठान्ने कार्य वास्तवमा श्रम र लगनशीलताको परिणाम हुन सक्ने दृष्टान्त कथाले दिएको उल्लेख गरे । प्रज्ञा–प्रतिष्ठानकी सदस्य निरु गौतमले ‘राक्षसनी’ कथामा धिमाल समुदायको सोझोपनाको उदाहरणमार्फत अन्धविश्वास आज पनि ग्रामीण समाजमा बलियो रूपमा रहेको टिप्पणी गरिन् । लघुकथा मञ्च कोसी प्रदेशका अध्यक्ष दीप मङ्ग्रातीले ‘किचकन्नी’ कथाले किचकन्नी, चुडेल्नी जस्ता अवधारणाहरू मानिसकै भय, भ्रम र मनोवैज्ञानिक दबाबका उपज हुन् भन्ने स्पष्ट बनाएको बताए ।
कथाकार ईरान राईले सबै समीक्षकहरूलाई धन्यवाद दिँदै भूत, प्रेत, चुडेल्नी जस्ता चिजहरूको वास्तविक अस्तित्व नभए पनि मानिसले त्यस्ता दृश्य सुन्न वा देख्नुभन्दा बढी ‘अनुभव’ किन गर्छ भन्ने प्रश्नका चार कारण व्याख्या गरे, सामाजिक रूपमा बनाइएका मिथक, प्रकृतिको विशेष बनोट, मानसिक दृष्टिभ्रम (पारेइडोलिया), र परमाणु स्तरमा संवेदन ग्रहण गर्ने वातावरणीय प्रभाव । कार्यक्रम बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षता र सचिव उमा सिजापतीको सञ्चालनमा सुदर्शन रिसोर्ट, बेलबारी–२, लालभित्तीमा सम्पन्न भएको थियो ।


