कोशी प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा बेलबारीको डेल्टा इंग्लिस स्कुल दोहोरो प्रथम


दमक । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा सम्पन्न प्रदेश स्तरीय अन्तर-विद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता २०८२ मा बेलबारीको डेल्टा एङ्ग्लिश स्कुलले सिनियर र जुनियर दुवै तहमा प्रथम स्थान हासिल गर्दै दोहोरो सफलता हात पारेको छ । प्रतियोगिता दमक-६ स्थित डेलिया मन्टेश्वरी स्कुलको प्राङ्गणमा सम्पन्न भएको हो ।

कार्यक्रम नेसनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनालको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि थापाले प्रतियोगिताको प्रशंसा गर्दै शिक्षा केवल पुस्तकमा सीमित नहुनुपर्ने र यसले समाजको संस्कृति तथा मूल्यलाई पनि अघि बढाउनुपर्ने बताए । उनले विद्यार्थीहरूले प्रस्तुत गरेका लोकनृत्यले समाजको विविधता र एकताको सशक्त सन्देश दिएको उल्लेख गरे ।

प्रतियोगिताको सिनियरतर्फ डेल्टा एङ्ग्लिश स्कुल प्रथम, मोरङ ज्ञानोदय स्कुल द्वितीय, हिमालय एङ्ग्लिश स्कुल तृतीय र इमिनिट स्कुल सान्त्वना भएका छन् । जुनियरतर्फ पनि डेल्टा एङ्ग्लिश स्कुलले प्रथम स्थान सुरक्षित गर्दा आभा एङ्ग्लिश स्कुल द्वितीय, हिमालय एङ्ग्लिश स्कुल तृतीय र इमिनिट स्कुल सान्त्वना भएका छन् । विभिन्न विद्यालयका विद्यार्थीहरूले आ-आफ्नो सांस्कृतिक पहिचान झल्किने मौलिक लोकनृत्य प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा सांस्कृतिक चेतना अभिवृद्धि गर्नु, परम्पराप्रतिको सम्मान जगाउनु तथा प्रतिभा प्रदर्शनका लागि उचित मञ्च प्रदान गर्नु हो । कार्यक्रममा उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूले यस्ता सांस्कृतिक गतिविधिले नयाँ पुस्तामा संस्कृति संरक्षण र प्रवर्द्धनको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल, प्रदेश सदस्य प्रविन प्रधान र धिरज नारायण गणेश, नेसनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझी, सुनसरीका अध्यक्ष खगेन्द्र केसी, मोरङका उपाध्यक्ष पर्वत राई तथा सचिव भनिरुद्र चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेसनल प्याब्सन कोशी प्रदेशका कार्यक्रम संयोजक दीपक न्यौपानेले गरेका थिए ।

प्रदेशस्तरीय प्रतिस्पर्धामा दुवै तहमा प्रथम स्थान हासिल गर्दै डेल्टा एङ्ग्लिश स्कुलले बेलबारीको शैक्षिक तथा सांस्कृतिक पहिचानलाई थप उचाइमा पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्