(कविता) प्रिय मेरो मृत्युमा कुनै शोक धून नबजाउनू –२


-शर्मिला खड्का दाहाल


प्रिय मेरो मृत्युमा कुनै शोक धून नबजाउनू ।
कुनै उत्सव नमनाउनू ।
किन की यहाँ मृत्यु नै उत्सव मनाइरहेको छ ।
प्रत्येक क्षण प्रत्येक पल विजयीको हाँसो हाँसिरहेको छ ।
भर्खर भर्खर सपना फूल्न थालेका युवाहरुको आयुमा
भर्खर फुल्दै गरेका कलिला मुनाहरूका खुसीहरूमा
जहर फैलाइरहेको छ ।
ऊ कहिले अस्पतालको गेटमा वेडको अभावमा
तडपिएको आत्मामाथि गिद्धे नजर लगाइरहेको छ ।
ऊ कहिले अक्सिजनको खाली सिलिन्डरहरुमा
अनेकौँ बाजा बजाएर तान्डव गरिरहेको छ ।
ऊ कहिले एम्बुलेन्स नपाएर टयाक्टरमा छटपटाइरहेको विमारीको
शरीरसँग जीवनको होली खेलिरहेको छ ।
ऊ कहिले सिटामोल रेमडेसिवीरको अभावलाई
मिठो धून बनाएर बजाइरहेको छ ।
ऊ असहाय, निरीह, अचेत आत्मामाथि
आफ्नो उन्मुक्तको नाच नाचिरहेको छ ।
विजयी हुन तम्तयार छ ।.
त्यसैले प्रिय मेरो मृत्युमा कुनै शोक धून नबजाउनु
कुनै उत्सव नमनाउनू ।
किन की यहाँ मृत्यु नै उत्सव मनाइरहेको छ ।
यो महाव्याधि, यो महामारी
शताव्दीमा कुन बेला आउँछ र कसरी आउँछ ?
हामीले अनुमान र निवारणका उपायलाई
उपेक्षा पो गरयौ कि !
पहिलो लहरबाट दोस्रो लहरमा अझ शक्तिशाली भएर
आउँदै गरेको भाइरसलाई नजरअन्दाज गरयौ कि !
हाम्रा चेतनशील मस्तिष्क खै कसरी
अलमलिए होलान् !
हामी आफ्नो सपनाको संसारमा ठूलठूला महल
सजाउनमा नै व्यस्त भयौ कि !
ती सब क्षणभरमा तहसनहस हुन्छ भन्ने कुरामा
अलिकति पनि सचेत भएनौँ कि !
प्रकृतिले दिएको यति ठूलो उपहारलाई
हामी ध्वस्त बनाउन तल्लीन पो भयौ कि !
हामीभित्र रहेको मपाईपन, लालचीपन र स्वार्थीपनले
हाम्रा ज्ञान, विवेक बुद्धि र सदाचारलाई
आफैँले हत्या पो गरयौँ कि !
क्षणिक स्वार्थ र भोगविलास र वैभवकताको लागि
हजारौँ अक्षम्य पाप पो गरि रह्यौ कि !
हजारौँ सृष्टि फुलाउने भ्रुणलाई गर्भमा नै हत्या गरेर
पापको भकारी भरिरह्यौ कि !
मगल र चन्द्रमामा बस्ती बसाउने धुनमा मानवबस्ती नै सखाप पार्न
तल्लीन भयौ कि !
मानवताको सबै सिद्धान्त बिर्सेर आफू मात्र रमाउन
नयाँ नयाँ सिद्धान्त प्रतिपादिन गरयौ कि !
निङ्कुश शासकहरूको तानाशाहीलाई
खबरदारी गर्नको बदलामा आफैँ सत्ता र सर्वशक्तिमानको
भोकले अन्धो भयौँ कि !
हाम्रै लाशमाथि नाचेर बाँसुरी फुक्ने गिद्धहरूको
पक्षपोशक पो भयौँ कि !
भ्रष्ट्राचार, कमिशनखोर र कालोबजारियाको नाड्गो नाच
नाच्नेहरूको साक्षी बसेर अपराध पो गरयौँ कि !
यो क्रुर र निरकुश सत्ताको साक्षी हामी
हामी नै दोषी हौँ कि !
त्यसैले मेरो प्रिय
मेरो मृत्युमा कुनै शोक धून नबजाउनू । कुनै उत्सव नमनाउनू ।
किन की यहाँ मृत्यु नै उत्सव मनाइरहेको छ ।
प्रत्येक क्षण प्रत्येक पल आफनो अस्तित्वको शंख फुकिरहेको छ ।
माफ गर प्रिये मैले खुसीको आनन्दको र जीवनको
कविता लेख्न सकिनँ ।
किन की यी सबै कुरा अपहरण भएर
समय नै बन्दी भएर बाँचिरहेको छ ।

(मुहारपुस्तिकाबाट साभार)

प्रतिक्रिया दिनुहोस्