दसैंपछि मात्रै नेकपा उपाध्यक्ष गौतमविरुद्धको मुद्दाको सुनुवाई हुने


काठमाडौं,२८ असोज । दसैंपछि मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई हुने भएको छ ।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन् ।

बुधबार संवैधानिक इजलास बस्न नसकेपछि दसैंअघि उनको मुद्दामा सुनुवाइ हुने संभावना लगभग टरेको हो । आगामी शुक्रबार संवैधानिक इजलास बस्ने सम्भावना नरहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए ।

असोज पहिलो साता सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्