जसपाले लुम्बिनी प्रदेशको पक्षमा मतदान गरेका दुई सांसदलाई स्पष्टिकरण सोध्ने


काठमाडौँ ,२१ असोज । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश ५ को नाम लुम्बिनी प्रदेशको पक्षमा मतदान गरेका दुईजना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

नाम र राजधानीको विषयमा सांसद सन्तोष पाण्डे र कल्पना पाण्डेले प्रदेशसभामा पार्टी निर्णयविरुद्ध मतदान गरेकोले (लुम्बिनी प्रदेश ) का संसदीय दलका नेता सहसराम यादवले स्पष्टिकरण सोध्ने निर्णय भएको बताएका छन् ।

प्रदेश ५ को नाम र राजधानीको विषयमा मंगलबार प्रदेशसभामा भएको मतदानमा जसपाका ६ जना सांसदमध्ये द्वय पाण्डेले लुम्बिनी प्रदेशको पक्षमा मतदान गरेका थिए ।

जसपाले प्रदेश ५ को नाम ‘थरुहट–अवध–मगरात’ र राजधानी दाङको ‘भालुवाङ’को पक्षमा मत दिने निर्णय गरेको थियो ।
‘पार्टीले गरेको निर्णयमा उहाँहरुले हस्ताक्षर गर्नुभएको थियो,’ संसदीय दलका नेता यादवले भने, ‘तर प्रदेशसभामा पार्टी निर्णयको विरुद्धमा मतदान गर्नुभयो । यही कारण उहाँहरुलाई पार्टीले स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।’

दुई सांसदले पार्टी निर्णय उल्लंघन गरेको विषयमा आज बसेको प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । आजको संसदीय दलको बैठकमा दुवै सांसद अनुपस्थित थिए ।

 

प्रतिक्रिया दिनुहोस्