पदका निम्ति पद्धति विरुद्ध प्रहार किन ?


तारा पराजुली –

बेलबारी मोरङ, ३१ साउन। प्राचीन राजनीतिक सिद्धान्तको इतिहासले समूहगत जीवन र संगठनलाई सचेततापूर्वक बुझ्दै समाधानको प्रयासलाई जोड दिन्छ । यो एक बौद्धिक र प्राज्ञिक परम्परा भएकै कारण समय विशेषको अन्तरालसँगै मानिसको राजनीतिक समस्यासँगै विचारधाराको पनि विकास हुन्छ।यसको एउटै उद्देश्य राज्य र सामूहिक जीवनलाई व्यवस्थित,सभ्य समुन्नत र समृद्ध बनाउनु हो।समृद्धिका लागि मुलुकले थुप्रै अभ्यास र प्रयास पश्चात् लोकतन्त्र,गणतन्त्र र संघीयताको उदयसँगै जनताको पक्षमा संविधान समेत निर्माण भयो।

मुलुकले समृद्धिका लागि दिगो सरकारको आवश्यकता र अपेक्षा गर्‍यो।यही मानकबाट निर्दिष्ट भई संविधान निर्माण पश्चात् देशकै ठुलो दलको नेतृत्वमा नेकपाको सरकार क्रियाशील छ। सरकारको नेतृत्व गर्दै गरेको दलबाट अन्य दलले धेरै राजनैतिक संस्कारहरू अनुसरण गरिरहेका हुन्छन् । यस अर्थमा पनि प्रमुख दलका आम क्रियाकलाप जीवनपद्धति सकारात्मक हुनुपर्छ।

पछिल्लो समय मुलुकको राजनीति चक्र केही शीर्षस्थ नेताहरूको वरिपरि घुमिरहेको छ। अहिले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ भन्ने माग प्रमुख विवादको विषय बनेको छ । अचम्मैको कुरा त के छ भने विगतमा प्रमुख प्रतिपक्षी दलहरूले सत्तापक्षलाई गर्ने कटाक्ष भन्दा घोर कटाक्ष अहिले आफ्नै समकक्षीबाट र आफ्नै दलबाट भइरहेको छ।

नेपालकै इतिहासमा यस प्रकारको घटना र सन्दर्भ पहिलो र अनौठो लागिरहेको कुरा यत्रतत्र सुनिन थालेको छ।प्रधानमन्त्रीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्छ भनेर बैठक र मिनी बैठकहरूमा चर्काचर्की सुनिन थालेको छ। यसका लागि तत्काल स्थायी कमिटीको बैठक आयोजना गर्नुपर्छ, पार्टी केन्द्रीय कमिटीको यथाशीघ्र बैठक हुनुपर्छ भनी स्थायी कमिटीका सदस्य, केन्द्रीय कमिटीका सदस्यले हस्ताक्षरसहित पार्टीमा बुझाउने काम पनि भएको छ।पार्टी कार्यलयहरु छाडेर थुप्रै पटक कोठे बैठक र भेलाहरू गरिए।

अति गोप्य भनेर राखिएका बैठकका ऎजेण्डा र निष्कर्षहरू सडकमा छताछुल्ल भएर सतहसम्म पोखिए।कतिपय गोपनीयताहरू उदाङ्गो भए।यसले औँलामा गन्न सक्ने केही व्यक्तिहरूको क्षणभरको आवेगको आगो निभाउने काम त गर्योहोला यसबाहेक आमरुपमा सरकार र सरकारमा आबद्ध पार्टीको आलोचना र टिप्पणीको उर्वर ब्याड तयार गर्ने काम मात्र भयो।

देश संकट्मा परेको बेला फरक बिचार राख्नेहरू समेत एक ठाउँ र एकजुट भई लड्नुपर्ने समय आफैँभित्र फुट्का छाया र छिट्टाहरु देखिनुले सिङ्गो कार्यकर्ता पङ्तिको आत्मबल घटाइरहेको छ।यस बेला शीर्षस्थ नेतृत्वले बुझ्नुपर्ने हो।हिजो दुई छुट्टाछुट्टै कम्युनिस्ट पार्टीहरूले इतिहासको विषम खण्डमा पुर्‍याएको देन र परिवर्तनका लागि भनेर गरिएका आन्दोलनहरूको उच्च सम्मान मुल्यांकन गर्दै एकजुट र एकमत भएर परिवर्तनका निम्ति अघि बढ्नुको विकल्प छैन।

आम नेपाली जनता र शुभचिन्तकहरूले नेकपा र नेकपाको सरकारलाई जुन आकार र उचाइमा जसरी आँकलन गरेका थिए,एकतापछि देशले समृद्धिको यात्रा तय गर्नेछ,
शान्ति ,स्थिरता र दिगो विकासका निम्ति पहल सुरु हुनेछन्, नेपाली जनताको जीवनयापनमा थप परिवर्तन सुधार आउने छ,दुई कम्युनिस्टहरू मिलेर बनेको स्थायी सरकार लोकतन्त्रको साख जोगाउन सफल साबित हुनेछ र नेता कार्यकर्ताहरू समृद्धिका इमानदार साधक हुनेछन् भन्ने बुझाई यस बेला भ्रम साबित हुनुहुन्न। आम शुभेच्छुकहरूको आत्मामा कदापि चोट लाग्नुहुन्न। विश्वासको फ्रेम अलिकति पनि नचर्कियोस् भनेर चौतर्फी खबरदारी भइरहेको छ।

अहिले विवादको रूपमा देखिएको या ल्याइएको जुन विषय छ, यो वैचारिक सिद्धान्तको जगमा सुरु भएको विवाद र बेमेल होइन। नितान्त पद र अवसरका लागि भइरहेको विवाद हो।पदकै लागि इमान र प्रतिष्ठा नामेट बनाउने भने पार्टी र सरकारका तहगत लगायत सिंगो संरचना भत्किन पुग्छन् ।क्षमता र कौशलकै कुरा गर्ने हो भने प्रधानमन्त्री पद मात्र होइन पार्टीभित्र ठूल्ठूला संयन्त्र हाँक्न सक्ने क्षमता र अनुभवले खारिएका नेता कार्यकर्ता र शुभेच्छुकहरूको ठुलो संख्या निर्वाचित जनप्रतिनिधि र नवगठित पार्टीका कमिटीहरूभन्दा बाहिर छ।तिनको व्यवस्थापन बारे पनि सोचिनु पर्छ।

यो विषम परिस्थितिमा सरकार परिवर्तनका असम्भव विषय प्रवेशले विकास र समृद्धिको गतिलाई कमजोर बनाइनु हुन्न। प्रधानमन्त्री राष्ट्रपति लगायतका प्रमुख नेतृत्व भागबन्डाको बखेडाले सिङ्गो संरचनामाथिको प्रहार यो मौसम प्रतिकूल प्रहार हुनेछ। यतातिर बेलैमा ध्यान दिन जरुरी छ। रहर र पद्धति फरक कुरा हुन्। पदका लागि पद्धति विरुद्ध प्रहार गर्नुले संगठनको भविष्य कतातिर जाला सोच्न जरुरी छ।

देशको शक्तिशाली पार्टी,देशको ठुलो पार्टी,जनताले विश्वास गरेको दल कतै अप्ठ्यारोमा पर्छ कि दुर्घटना हुन्छ कि,यस बेला सर्वत्र चिन्ताको विषय बनेको छ।आम जनताको अविच्छिन्न मायाले बाँचेको पार्टी, सम्भावना बोकेका बौद्धिक क्षमतावान् नेता कार्यकर्ता शुभचिन्तक शुभेच्छुकहरूको प्रेम र सम्मानले जीवन्त पार्टी भएको नाताले पार्टी काम गर्ने अवसर र क्षमता अनुसारको पदको अपेक्षा राख्नु गलत होइन । क्षमतावान् संगठकहरुद्वारा निर्माण भएको यस संगठनमा योगदान पुर्याउनेहरुले अवसर पाउनुपर्ने माग अस्वाभाविक पनि होइन । तर कुशल नेता कार्यकर्तामा धैर्य र सहनशीलता महत्त्वपूर्ण गुण हुन् भन्ने कुरा भुल्नु नहुने तथ्य हुन्।

आत्मकेन्द्रित सिद्धान्तको राजमार्गमा अवसरको रेल गुडाउँदै गर्दा एकफेर सोच्नुपर्ने हो कि,हामी उच्चस्तरको राजनैतिक संस्कारको विकास पनि गर्दैछौँ भनेर। पार्टीमा यति लामो त्याग संघर्ष गरेर यहाँसम्म आइपुग्दा एकफेर त सोच्नुपर्ने हो,छानो नै नरहे कसरी घाम छेकिएला ? धुरी नै चुहिए कसरी शिर ओतिएला ? बितेका दिन हाम्रा लागि सफा ऐना हुन् । यही सुकिलो ऐनामा आफ्नो अनुहार मात्र होइन पुरै शरीर हेरौँ ।

हिजो जनताको आँगन टेकेर दुई हात जोडी पटक पटक गरेका बाचाहरू सम्झनुपर्दैन ? जनताले प्रदान गरेको जनमत नमस्कारको सट्टा चढाएको भेटी अवश्य होइन। यो मत विश्वासको मत हो,भरोसाको मत हो, समृद्धिका लागि सुम्पिएको पुर्जा हो । परिवर्तन र समृद्धि ल्याउनका निम्ति सिङ्गो कार्यकाल आफ्नो उच्च विवेक,इमानदारिता,चातुर्यताले मुलुक झलमल्ल बनाउन भनेर सुम्पिएको विश्वासको पुर्जा बाचा पूरा नगरी च्यात्न मिल्छ ?

प्रधानमन्त्रीले गरेका युगान्तकारी कामहरू देशकै गौरव हुन्।पार्टीले गरेका काम संगठनकै गरिमा हुन्,सम्पत्ति हुन्।छोटो समयमै प्रधानमन्त्रीको नेतृत्वमा गठन भएका तीन तहका सरकारले गरेका थुप्रै जनमुखी कामहरूको सम्मान गर्दै सरकारलाई थप प्रगतिशील र सृजनशील बनाउन सहयोग गरौँ । ती पार्टी जीवनकै थप गुडवील हुनेछन् । पछिल्लो समय सिमानामा राखिएको बिओपीले प्रधानमन्त्रीको मात्र होइन सिङ्गो देशको बहादुरीको प्रमाणपत्र प्रस्तुत गरिरहेको छ।

भारतद्वारा अतिक्रमित भूमि हाम्रो हो भनेर यो सरकारले प्रस्ट नक्सा नै सार्वजनिक गर्ने काम गरेको छ । यश कार्यले देशको अनि पार्टीको उचाइलाई माथि उठाएको छ। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण,पुन निर्माणमा फड्को,पेट्रोलियम पाइपलाइनको सुरुवात,रेलमार्ग,सामाजिक सुरक्षा कार्यक्रम,पृथकतावादी राजनीति निस्तेज,छिमेकीसँग सन्तुलनको प्रयास;भूमि रक्षाका लागि बुलन्द आवाज,आदि साहसी कार्यहरू प्रशंसायोग्य कार्यहरू हुन्।

अत: यसबेला आन्तरिक कलह भुलेर एकताबद्ध भई महामारीका विरुद्ध लड्नु बुद्धिमानी हुन्छ। बितेको चार महिना यता विश्व जगतले निक्कै ठुलो संकटको मार धान्नु परेको छ।अप्रत्याशित एकाएक विश्वभर प्रवेश गरेको संकटको रूप झनै रौद्र र कहाली लाग्दो बनिरहेको छ । कहिल्यै कल्पनासम्म नगरेको यस महामारीका कारण शक्ति राष्ट्रदेखि ससाना र सामान्य आर्थिक अवस्था भएका मुलुकहरू समेत कोरोनाका कारण त्रसित र आतंकित बनेका छन्।नेपालमा पनि भिन्न स्वरूपमा प्रवेश गरेको यस संकटलाई विपथका पूर्वतयारीहरु अपनाई रहँदा पनि फरक स्वरूपकै कारण प्रभाव पर्गेल्न अप्ठ्यारो परिरहेको छ।

देश महामारीको रापमा सेकिइरहेको छ।हरेक दिन डुबान, कटान र बाढी पहिरोबाट धनजनको क्षति भइरहेका समाचारहरू सम्प्रेषण भइरहेका छन् । लकडाउनका कारण दैनिक रोजीरोटी खोसिएका नागरिकहरूको हातमुख जोर्ने समस्या झन्झन् जटिल हुँदै छ । तिनको समाधान खोज्ने बेला हो। नागरिकहरू जीवन मरणको लडाइँ लड्दै गरेको यो समय पार्टी शीर्ष नेतृत्व भने आन्तरिक राजनैतिक द्वन्द्व अल्झिरहँदा कतै महामारी हुर्कने त होइन ? सोच्न जरुरी छ।यस बेला त्रासले खेद्दिइरहेका नागरिकलाई कुशल अभिभावकत्वको खाँचो छ।कोरोना भयका कारण ठुलो संख्यामा विदेशबाट युवाहरू फर्किएका छन् ।

उनीहरूको सीप, क्षमताको सदुपयोग गर्न उघोगहरु चाहिएको छ । आयतित बस्तुहरू उपयोग गरिरहेको मुलुकलाई उपभोगमा आत्मनिर्भर बनाउन बहुउद्देश्यीय रोजगार केन्द्रहरू स्थापना गरी रोजगारीका अवसरहरू सृजना गर्नु अहिलेको आवश्यकता हो। समग्रमा यो समय बाँच्ने बचाउने समय भएकोले बाचौँ बचाऔँ।यसैमा सबैको भलाइ छ।

(लेखक पराजुली बेलबारी न पा मोरङकी उपमेयर हुन् )

प्रतिक्रिया दिनुहोस्