कार्यशैली नसुधारे एमाले झन् कमजोर हुन्छ : सुरेन्द्र पाण्डे


काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे ले हालैको निर्वाचन परिणामको समीक्षा गर्दै पार्टीले कार्यशैली परिवर्तन नगरे भविष्यमा अझै कमजोर हुने चेतावनी दिएका छन् । बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले अहिले जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै आत्मसमीक्षा र सुधारको आवश्यकता औँल्याएका हुन् ।

पाण्डेले विगतमा एमालेले ठुलो सफलता हासिल गरे पनि त्यसलाई जोगाउन नसकेको स्वीकार गरे । उनले पार्टीको अवस्था उदाहरण दिँदै पहिले ठुलो संख्यामा प्रतिनिधित्व रहेको एमाले अहिले क्रमशः खुम्चिँदै गएको बताए । “हामीले झन्डै १७४ सिट जित्दा दिग्विजय गर्‍यौँ भन्ने थियो, तर जोगाउन सकेनौँ,” उनले भने, “पहिले बसभरि आउने एमाले अहिले माइक्रोबसमा झरेको छ, अब पनि सच्याएनौँ भने स्कुटरसम्म सीमित हुन सक्छ ।”

उनका अनुसार पार्टीले समयअनुसार आफ्नो कार्यशैली, सोच र रणनीतिमा परिवर्तन नगरे आगामी निर्वाचनमा परिणाम झनै खस्किन सक्ने खतरा छ। उनले वर्तमान अवस्थालाई गम्भीर रूपमा लिन आग्रह गर्दै नेतृत्वदेखि कार्यकर्ता तहसम्म परिवर्तनको आवश्यकता औँल्याए ।

पाण्डेले कमजोरीप्रति निर्मम बन्नुपर्नेमा पनि जोड दिए। उनले आफ्नै त्रुटिहरू स्वीकार गरी सुधारतर्फ नलागे पार्टी अझ संकटमा पर्ने चेतावनी दिए । “कमजोरीप्रति निर्मम बन्न सके मात्रै सही बाटो पहिचान गर्न सक्छौँ, अन्यथा सामूहिक मलामी जाने दिन आउन सक्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्