काठमाडौं । नेपाल सरकारले अबदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले शनिवार र आइतबार बिदा दिने व्यवस्था लागू गर्ने निर्णय गर्दै यो व्यवस्था भोलि अर्थात् चैत २३ गतेदेखि कार्यान्वयनमा ल्याउने भएको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउने उद्देश्यसहित यो निर्णय गरिएको हो । इन्धन खपत घटाउने र प्रशासनिक खर्च नियन्त्रण गर्ने लक्ष्यका साथ सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा दुई दिने बिदा लागू गरिने उनले जानकारी दिए ।
नयाँ व्यवस्थाअनुसार अब सरकारी निकाय र विद्यालयहरू हप्तामा पाँच दिन मात्र सञ्चालन हुनेछन् । यसले कर्मचारीहरूको कार्यक्षमता वृद्धि, यातायात चापमा कमी तथा ऊर्जा बचतमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको सरकारको भनाइ छ ।
सरकारले यस निर्णयलाई व्यवहारिक र दीर्घकालीन बनाउन आवश्यक अनुगमन र मूल्यांकनसमेत गर्ने जनाएको छ । साथै, सेवा प्रवाहमा असर नपर्ने गरी वैकल्पिक व्यवस्था मिलाइने पनि स्पष्ट गरिएको छ ।


