मोरङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि नेकपा एमालेले कानेपोखरी गाउँपालिकाका विभिन्न वडाहरूमा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ । क्षेत्र नं. ३ का उम्मेदवार इरनकुमार राईसहित पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागितामा कानेपोखरीका वडा नं. ४, ५, ६ र ७ मा कार्यक्रम आयोजना गरिएको हो ।

वडा नं. ४ मा वडा कमिटी अध्यक्ष दीपक घिसिङको अध्यक्षतामा, वडा नं. ५ मा भूपाल खवासको अध्यक्षतामा, वडा नं. ६ मा संयोजक सुशीला श्रेष्ठ (मुना)को अध्यक्षतामा तथा वडा नं. ७ मा संयोजक मोहनप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उम्मेदवार इरनकुमार राईसहित प्रदेश तथा जिल्ला तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा उम्मेदवार राईले निर्वाचनमा साथ दिने मतदाता र पार्टीका कार्यकर्ताहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पार्टी संगठनलाई अझ सुदृढ बनाउन आवश्यक रहेको बताए । उनले चुनावमा प्रस्तुत गरिएका योजना र प्रतिबद्धताहरू जनताको हितमा रहेकाले ती योजनाहरू कार्यान्वयनतर्फ सिङ्गो पार्टी लाग्नुपर्ने धारणा व्यक्त गरे ।

राईले निर्वाचनपछि उम्मेदवारहरू जनता र कार्यकर्तामाझ नपुग्ने गरेको गुनासोप्रति आफू सचेत रहेको उल्लेख गर्दै आफू प्रत्यक्ष रूपमा कार्यकर्ताहरूबिच पुगेको र आगामी दिनमा पनि जनताको तहमा निरन्तर पुग्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सहभागी अधिकांश कार्यकर्ताहरूले निर्वाचनमा अपेक्षित मत नआउनुका कारणहरूको समीक्षा गर्दै संगठन सुधार, जनसम्पर्क विस्तार र आगामी रणनीतिका लागि विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए ।

यसैबिच एमालेले धन्यवाद कार्यक्रमलाई अन्य क्षेत्रमा पनि निरन्तरता दिने जनाएको छ । क्षेत्रीय संयोजक भोलाप्रसाद अधिकारीका अनुसार आगामी कार्यक्रमहरू सुन्दरहरैँचा नगरपालिकाका वडा नं. १, ११ र १२ मा चैत्र ५ गते तथा वडा नं. ८, ९ र १० मा चैत्र ६ गते आयोजना गरिनेछन् ।


