प्रदेश १ मा ६० हजारको कोरोना परीक्षण


विराटनगर, २८ साउन । प्रदेश १ मा ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि आज साँझ सम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पीसीआर परीक्षण भएको छ ।

प्रदेश १ का जिल्लाको ५६ हजार ४ सय १६ र प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १ सय ७४ वटा पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उहाँले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १८ हजार ८ सय ७, कोशी अस्पताल विराटनगरले २२ हजार ३ सय ५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५ सय २१ वटा पीसीआर परीक्षण गरेको बताउनुभयो ।

परीक्षण गरिएका मध्ये १ हजार ५ सय ६३ को रिपोर्ट पोजेटिभ आएको छ । ५४ हजार ८ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा ८ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा मोरङमा सबैभन्दा बढी संक्रमण देखिएको छ । मोरङमा ६ सय ५७ जना संक्रमित भएका छन् । मोरङमा १६ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ । विराटनगर महानगरपालिका क्षेत्र भित्रका ९ हजार ६ सय ८० को परीक्षण भएको निर्देशक यादवले बताउनुभयो । महानगरपालिकाले पठाएको ४ हजार, कोशी अस्पतालको बुथमा संकलन भएको १ हजार २ सय, प्रदेश ल्याबले महानगर क्षेत्रभित्र संकलन गरेको ३ हजार र विराटनगर विभिन्न संघ संस्थाबाट लिइएको नमुना १ हजार ४ सय ८० रहेको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ मा रहेका तीनवटा प्रयोगशालाले दैनिक १ हजार ५ सय स्वाबको परीक्षण गर्न सक्ने क्षमता रहेको बताउनुभयो । झापाको मेची अञ्चल अस्पतालको ल्याब सञ्चालनको तयारीमा रहेको उहाँले बताउनुभयो । मेचीको ल्याब सञ्चालनमा आएपछि परीक्षण क्षमता बढ्ने डा. मेहताले बताउनुभयो ।

प्रदेश प्रयोगशालाका निर्देशक यादवले प्रदेश प्रयोगशाला विराटनगरमा १ हजार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ सय, कोशी अस्पताल विराटनगरमा ८ सय ५० स्वाब होल्डमा रहेको बताउनुभयो । उहाँले दैनिक ७ सय स्वाब होल्डमा हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्