काठमाडौं, १२ साउन । नेपालमा आज (सोमबार) एकै दिन थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक जना भारतीय र दुई जना नेपालीसहित तीन जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
वीरगञ्जको गण्डक अस्थायी कोभिड–१९ अस्पतालमा उपचारत भारत विहारका ६५ वर्षीय पुरुषको साउन ११ गते मृत्यु भएको हो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि साउन १० उनलाई आइसियुमा भर्ना गरिएको थियो । उनी मधुमेहका बिरामी थिए । उनको स्वाब परीक्षणको रिपोर्ट मृत्युपछि आएको हो । रिपोर्टमा कोरोना पोजेटिभ आएको हो ।
यस्तै धनुषा जिल्ला सहिदनगर नगरपालिकाका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन ११ मा नै मृत्यु भएको छ । उनमा ज्वरो खोकीका लक्षण देखिएका थिए । उनलाई प्रादेशिक अस्पताल जनकपुरबाट धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै बाराका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन १२ गते मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । उनी न्युमोनिया र मस्तिष्कघातका बिरामी थिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।