विराट नर्सिङ होमका थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


मोरङ, १२ साउन । मोरङको विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पतालमा) का थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

बुधवार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका ५८ जनाको पीसीआर जाँच गर्दा चार जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ । २१, ३०, ३१ र ५६ वर्षीया नर्सिङ स्टाफमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल सञ्चालकलाई कोरोना पुष्टि भएपछि उनीहरू क्वारेनटाइनमा थिए । संक्रमण पुष्टि भएकाहरूलाई आइसोलेसनमा भर्ना गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् । अस्पताल सञ्चालकलाई भने काठमाडौं लगिएको छ ।

यस्तै कोशी अस्पताल विराटनगरले संक्रमित नर्सले काम गरेको पोष्ट नेटल वार्ड शिल गरेको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले वार्ड शिल गरेर स्वाब संकलन गरिने जानकारी दिँदै भने, ‘आजै रिपोर्ट आउने गरी परीक्षण गर्छौँ ।’

यता विराट नर्सिङहोम र विराट मेडिकल कलेजमा कार्यरत कर्मचारीले सबैको कोरोना जाँच गर्न माग गरेका छन् । नर्सिङहोममा २५० बढी कर्मचारी कार्यरत छन् । उनीहरूमध्ये पहिलो चरणमा ५८ जनाको स्वाब संकलन गरिएको थियो ।

संक्रमितको मृत्युपछि प्रादेशिक अस्पतालको इमरजेन्सी र आइसियु वार्ड शिल

यता कोरोना संक्रमणबाट एक ३८ वर्षीय युवकको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीको एक युनिटलाई २४ घण्टाको लागि शिल गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिअन्तर्गत रहेको कोभिड व्यवस्थापन समितिको सोमबार बसेको बैठकले इमरजेन्सी युनिट २४ घण्टा र आईसीयू वार्ड ७ दिनको लागि शिल गर्ने निर्णय गरेको अस्पतालका निमित प्रमुख जामुन सिंहले जानकारी दिएका छन् । ती युवाको सोही अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भएर उपचारका क्रममा मृत्यु भएको थियो ।

ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका धनुषाको सहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय युवाको आइतबार मृत्यु भएको थियो ।

मृतकको शवलाई आजै दिउँसो नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने निर्णय भएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार शव व्यवस्थापनमा खट्ने नेपाली सेनाका जवानहरूलाई केही दिन क्वारेनटाइनमा बस्नु पर्ने र पीसीआर टेस्ट गरेर नेगेटिभ रिर्पोट नआएसम्म बाहिर निस्कन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्