कोरोनाबाट मृत्यु सप्तरीका एक वृद्धको परिवारका सबै सदस्यमा संक्रमण पुष्टि


सप्तरी, ४ साउन । कोरोना संक्रमणका कारण मृत्यु भएका सप्तरीका एक वृद्धको परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राजविराजका ७२ वर्षीय वृद्धको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो ।

मृत्यु भएका वृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामासमेत कोरोना पुष्टि भएको राजविराज नगरपालिका–६ का अध्यक्ष प्रेम यादवले जानकारी दिएका छन् । संक्रमण देखिएका सबैलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

मृतक वृद्धको परिवार दुई साताअघि भारतबाट फर्किएका थिए । मृतकले आफ्नी पत्नीलाई उपचार गराउन गत फागुनमै परिवारसहित भारत गएका थिए । घर फर्केपछि गत मंगलबार ७२ वर्षीय वृद्धलाई सास फेर्न गाह्रो हुँदा उपचारका लागि धरान लगिएको थियो । तर, धरानमा पीसीआर टेस्ट गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिहीबार राति ८ बजे पोजेटिभ कोरोना संक्रमण पुष्टि भएका उनको सोही राति १० बजे मृत्यु भएको थियो । उनको मृत्यु भएपछि उनको परिवारका सबै जनाको स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षण गरिएको थियो ।

उनको पसलका कर्मचारीको समेत स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको वडाध्यक्ष यादवले बताए । तर उनीहरूको रिपोर्ट आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्