प्रदेश १ मा समुदाय स्तरमा कोरोना परीक्षण गरिने


विराटनगर, ३१ असार । प्रदेश १ मा समुदाय स्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ । पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण क्वारेनटिनमा मात्र देखिएको छ ।

समुदायमा संक्रमण छैन । तर, प्रदेश सरकारले नमुनाका रूपमा समुदाय स्तरमा पनि परीक्षण गर्ने तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ क्वारेनटिनमा मात्र हैन समुदायमा पनि नमुनाका रूपमा परीक्षण गर्न आवश्यक देखियो ।’ कोरोना उपचार केन्द्र र क्वारेनटिनबाट डिस्चार्ज भएकाहरूको परिवार र आसपासका स्थानहरूको छनौट गरेर नमुनाका रूपमा परीक्षण गर्ने मन्त्री घिमिरेले बताउनुभयो । पहिलो चरणमा सुरक्षाकर्मीको परीक्षण गरिएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमणको नियन्त्रण तथा उपचारका लागि अग्रभागमा रहेर काम गरिरहेका तीनै वटै सुरक्षा निकायका १ हजार ५ सयको परीक्षण गरिएको मन्त्री घिमिरेले बताउनुभयो । सुरक्षाकर्मीको परीक्षणमा कसैलाई पनि संक्रमण देखिएन उहाँले भन्नुभयो । सुरक्षाकर्मी पछि स्वास्थ्यकर्मीको परीक्षणको तयारी सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘निजी अस्पताल सञ्चालकहरूको संगठन अफिनसँगको सहकार्यमा स्वास्थ्यकर्मीको परीक्षण गरिने छ ।’ स्वास्थ्यकर्मीको परीक्षण पछि समुदाय स्तरमा परीक्षण गरिने मन्त्री घिमिरेले बताउनुभयो ।

परीक्षणको दायरा बढाउनका लागि माग बढिरहेकाले समुदाय स्तरमा पनि परीक्षण गर्न लागिएको उनको भनाई छ । मन्त्री घिमिरेले भन्नुभयो,‘ क्वारेन्टाईनमा रहेका, कन्ट्याक्ट ट्रेसिङका आधारमा र कोरोना उपचार केन्द्रमा भर्ना भएकाहरूको नेगेटिभ रिपोर्ट नआउँदा सम्म परीक्षण गर्ने काम भइरहेको छ ।’ प्रदेश १ मा कोरोना संक्रमण भन्दा कोरोना मुक्त भएर घर फर्कनेको संख्या बढ्दोक्रममा रहेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रदेश १ को अवस्था भयावह छैन ।’ भारत लगायतका तेस्रो मूलकबाट आउनेहरूमा मात्र संक्रमण देखिएको मन्त्री घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्