पहिलोपल्ट एक सांसदमा कोरोना संक्रमण पुष्टि


सुर्खेत, ३० असार । नेपालमा पहिलोपल्ट एक सांसदमा कोरोना भाइरस संक्रमण फेला परेको छ ।
कर्णाली प्रदेशसभाका एक सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । काङ्ग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशसभाको बर्खे अधिवेशन सकिन लागेपछि आफ्नो निर्वाचन क्षेत्र जान आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट पोजेटिभ आएको स्वकीय सचिवले जानकारी दिएका छन् ।

उनको स्वाबको सोमबार सुर्खेतको पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको थियो । सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘उहाँमा कोरोना देखिएको छ । अहिले वीरेन्द्रनगरमै होम आइसोलेसनमा बस्नु भएको छ । स्वास्थ्यकर्मी प्रत्यक्ष निगरानीमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य छ,’ स्वकीय सचिवले भने ।

स्वकीय सचिवका अनुसार सांसद बर्खे अधिवेशनभर संसद् भवन र कोठा बाहेक बाहिर गएका थिएनन् । उनको दैनिकी संसद् भवन र कोठा हुँदै बित्ने गरेको थियो । संसद् अधिवेशन सुरु हुनुभन्दा अगाडि गरिएको पिसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

१६० जनाको पीसीआर परीक्षण गरिने

प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभामा खैलाबैला भएको छ । उनको सम्पर्कका आएका सांसददेखि पत्रकारसम्मको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले जानकारी दिएका छन् ।

सांसद, कर्मचारी, माननीयहरूका स्वकीय सचिव र केही पत्रकारसहित १६० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न लागिएको सचिव बुढाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्