“भाषा, साहित्यको संरक्षण आवश्यक छ” : मुख्यमन्त्री राई


विराटनगर, २९ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवश्यक रहेकोमा जोड दिनु भएको छ । संघियता अघिको शासन प्रणालीले स्रष्टाहरूको खोजी, पहिचान र सम्मानको काम नगरेको उहाँले बताउनुभयो ।

२ सय ७ औँ भानु जयन्तीका अवसरमा आज सामाजिक विकास मन्त्रालयले आयोजना थरेको स्रष्टा सम्मान तथा पुरस्कार समर्पण समारोहमा उहाँले साहित्य, कलाको संरक्षण र विकासका लागि प्रदेश १ सरकारले एकेडेमी बनाउने तयारी सुरु गरेको उहाँले बताउनुभयो । साहित्य, कला, संस्कृतिको संरक्षण हुन नसके नेपालीपन हराएर जाने उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपाली भाषा संकटमा रहेको बताउनु भयो । नेपाली भाषा प्रयोग गर्नेको संख्या अहिले ३० प्रतिशत घटेको उहाँको भनाई छ । अहिले नै भाषा, साहित्यको संरक्षण र विकास नगरे भावी सन्ततिमा नेपाली भाषाको प्रयोग अझै घट्ने मन्त्री घिमिरेले बताउनुभयो । नेपाली भाषा माथि चुनौती रहेकाले यसको विकास र संरक्षण आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो,‘ नेपाली भाषासँगै प्रदेश १ मा बोलिने १ सय ४ वटा भाषा पनि संकटमा छन् ।’ मातृभाषा, संस्कृति र संस्कार संकटमा पर्दै गएकाले यसको संरक्षणमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रा.डा. टंक न्यौपाने, प्रा.डा. भीम खतिवडा, प्राज्ञ खेम नेपाली, साहित्यकार मुनाराम शर्मा लगायतले आदिकवि भानुभक्त आचार्यको स्मरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्