सरकार फाँसीवादतर्फ अघि बढेको ओलीको आरोप : आन्दोलनको तयारी गर्न निर्देशन


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले तत्कालै वा तिहार तथा छठपछि जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन आग्रह गरेका हुन् ।

बुधवार (कात्तिक ११) पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशलाई वर्तमान अवस्थाबाट पार लगाउन आन्दोलन आवश्यक रहेको बताए । आन्दोलनबाट पछि हटे सफल हुन नसकिने उनको भनाइ थियो ।

‘देश क्रिटिकल अवस्थामा छ । यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ । यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ,’ ओलीले भने, ‘यति असहज र अप्ठ्यारो स्थिति छ, आन्दोलनबाहेक अर्को कुराबाट अघि बढ्न खोज्यौँ र आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ ।’

ओलीले आन्दोलनले पार्टीलाई शक्ति प्रदान गर्ने, अघि बढाउने र राजनीतिक लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउने दाबी गरे । उनले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको नारा दिएर जनतालाई धोका दिइरहेको आरोपसमेत लगाए ।

वर्तमान सरकार बलजफ्ती अघि बढिरहेको आरोप लगाउँदै ओलीले नेपाल प्रहरीले बिनाबर्दी पक्राउ गर्न जाने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । बोल्ने व्यक्तिलाई पक्राउ पुर्जी जारी गर्ने र गिरफ्तार गर्ने गरिएको उनको आरोप थियो ।

‘पुलिससँग ड्रेस छैन? ड्रेस नलगाएर, आवारा हो पुलिस ? गुण्डा हो पुलिस ? बिनाबर्दी जाने, बलजफ्ती गरेर ढोका खोल्न लगाउने ?’ भन्दै उनले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाए ।

अध्यक्ष ओलीले सरकार ‘फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको’ टिप्पणी गर्दै नागरिकले स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्था सिर्जना भएको दाबी गरे । उनले यस्तो परिस्थितिमा एमाले आन्दोलनकारी ढङ्गले अघि बढ्नुपर्ने बताए ।

आगामी निर्वाचनलाई लक्षित गर्दै ओलीले एमालेलाई पराजित गर्ने प्रयास असफल बनाउने गरी तयारी गर्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए । आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा एमालेविहीन देश बनाउने योजनालाई ‘दिवास्वप्न’ मा परिणत गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्