उत्तरी मोरङका महिलाहरूको निगुरो व्यवसाय


केशु विरही – बेलबारी, २३ असार । मोरङ सुन्दरहरैंचाकी देवी भट्टराई बिहान उठ्नसाथ साइकल र बोरा बोकेर कानेपोखरी र लेटाङको बिचमा रहेको जङ्गलमा पुग्छिन् । उनीसँग अरू पनि थुप्रै साथीहरू हुने गर्छन् । त्यहाँ पुग्नसाथ उनी साइकल सडक किनारमा राखेर जङ्गलमा पस्छिन् र निगुरो टिप्न थाल्छिन् । ९ बजेसम्ममा त उनको निगुरोको भारी पुगिसकेको हुन्छ । जम्मा भएको निगुरो बेचेर उनी घर फर्किन्छिन् ।

उनले यही पेसाबाट पाँच जनाको परिवार पाल्दै आएकी छिन । उनले निगुरो टिप्ने पेसालाई मुख्य पेसाको रूपमा लिँदै आएकी छिन । अर्को कुनै भरपर्दो पेसा नहुँदा निगुरो टिपेरै गुजारा गर्नु परेको उनी बताउँछिन् ।

बेलबारी १० की सनममाया धिमाल हरेक दिन आफ्नो घरदेखि उत्तरमा रहेको सिर्जना सामुदायिक वनमा पुग्छिन् र निगुरो टिप्नथाल्छिन । उनले यसरी निगुरो टिप्न थालेको धेरै वर्ष भयो । विगत लामो समयदेखि उनी निगुरो टिप्दै आएकी हुन । अझ भनौँ यो उनको पुर्ख्यौली पेसा नै हो । खेतीपाती मुख्य व्यवसाय रहे पनि निगुरोबाट आएको पैसाले घर खर्चमा ठुलो सहयोग पुगेको उनी बताउँछिन् ।

मोरङको उत्तरी क्षेत्र विशेष गरेर बेलबारी, कानेपोखरी, लेटाङ लगायतको क्षेत्र निगुरोको लागि प्रख्यात मानिन्छ । यहाँका अधिकांक्ष महिलाहरूले निगुरो टिप्ने कामलाई एउटा भरपर्दो पेसाको रूपमा लिने गरेका छन् ।

यहाँको निगुरो स्थानीय बजारदेखि लिएर काठमाडौँ सम्म पुग्ने गर्छ । तर लकडाउनले गर्दा यातायातका साधन चल्न नसक्दा ठुलो समस्या रहेको स्थानीय व्यपारीहरु बताउँछन् । लकडाउनले गर्दा अघिल्ला सालजस्तो निगुरो विक्री नभएको उनीहरू बताउँछन् ।

स्थानीय बजारमा प्रति मुठा रू.२५ देखी ३० सम्म पर्ने निगुरो विशेष गरेर जेठ महिनादेखि लिएर भदौ असोजसम्म पाइन्छ । हेर्दा साधारण तथा सहजजस्तो लागे पनि यो पेसामा जोखिम र चुनौती उत्तिकै रहेको बेलबारीकी सनममाया धिमालको अनुभव रहेको छ । सर्प, बिच्छी तथा जङ्गली जनावरको डरले उत्तिकै सताउने गरेको उनी बताउँछिन् ।

लकडाउनले विद्यालय बन्द रहेपछि अहिले यो पेसामा विद्यार्थीहरूको समेत बाक्लो सहभागिता देख्न सकिन्छ । कानेपोखरीको जङ्गलमा निगुरो टिप्दै गरेको अवस्थामा भेटिएका पञ्चायत मावि पथरीमा कक्षा ९ मा अध्ययनरत एलिना क्षेत्री र सगुन राना मगर विद्यालय बिदा भएकोले आफूहरू निगुरो टिप्न आएको बताउँछन् ।

बेलबारीमा रहेको सिर्जना सामुदायिक वनका अध्यक्ष छत्र लिम्बू निगुरो व्यवसाय यो क्षेत्रका महिलाहरूका लागि एउटा भरपर्दो पेसा बनेको बताउँछन् । ठुलो सङ्ख्यामा गरिब तथा विपन्न महिलाहरू यो पेसामा आबद्ध रहेको बताउँदै विधान तथा कार्य योजनामा निगुरोको कर उठाउने भनिए पनि उनीहरूको हितलाई मध्यनजर गरेर सामुदायिक वनले निगुरोलाई करको दायरामा नल्याएको अध्यक्ष लिम्बू बताउँछन् ।

अर्ग्यानिक सब्जीको रूपमा चिनिने निगुरो सबैले मन पराउने र प्राय सबैको भान्सामा पुग्ने गर्छ । तर पछिल्लो समय यसमा रासायनिक मलको प्रयोग हुन थालेको बताइन्छ । अर्ग्यानिक सब्जीको रूपमा चिनिने निगुरोमा रासायनिक मलको प्रयोग हुनु आफैमा राम्रो काम होइन । यसतर्फ सबैको ध्यान जानू जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्