उपाधि कसले जित्ला ? : फाइनलमा कुर्सियोङ लेजेन्ड्स, भारत र दुधे भेट्रान, झापा भिड्दै


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा जारी पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्ड कप २०८२ को उपाधिका लागि भारतको कुर्सियोङ लेजेन्ड्स र झापाको दुधे भेट्रानबीच प्रतिस्पर्धा हुने भएको छ । सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना खेल मैदानमा विराट भेट्रान क्लबको आयोजनामा चैत २१ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत दुवै टोलीले सेमिफाइनल पार गर्दै उपाधि नजिक पुगेका हुन् । फाइनल खेल यही शनिवार चैत २८ गते हुने आयोजकले जनाएको छ ।

(भारतको कुर्सियोङ लेजेन्ड्स)

प्रतियोगिताको पहिलो सेमिफाइनलमा झापाको दुधे भेट्रानले मिल्स भेट्रानलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । त्यस्तै, दोस्रो सेमिफाइनलमा भारतको कुर्सियोङ लेजेन्ड्सले सुनसरीको भारुल भेट्रानलाई समान १-० गोल अन्तरले हराउँदै उपाधि भिडन्त सुनिश्चित गरेको छ । दुवै खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका थिए, जहाँ न्यून अन्तरको जितले फाइनलका लागि दुई बलिया टोली छनोट भएका छन् ।

(झापाको दुधे भेट्रान)

आयोजक विराट भेट्रान क्लबका अध्यक्ष राजन तामाङका अनुसार प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताले स्थानीय स्तरमा फुटबलप्रतिको आकर्षण बढाउनुका साथै अनुभवी खेलाडीहरूलाई पुनः मैदानमा उतार्ने अवसर प्रदान गरेको आयोजकको विश्वास छ ।

विराट भेट्रान क्लबका अध्यक्ष तामाङले फाइनल खेललाई विशेष उत्सवका रूपमा मनाउन सबै खेल प्रेमीहरूलाई उपस्थित भई खेलको रोमाञ्चकता नजिकबाट अनुभूति गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्