दुधेलाई हराउँदै कुर्सियोङ च्याम्पियन : पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्ड कप


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्ड कप २०८२ को उपाधि भारतको कुर्सियोङ लेजेन्ड्सले जितेको छ । शनिवार भएको फाइनल खेलमा कुर्सियोङ लेजेन्ड्सले झापाको दुधे भेट्रानलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । प्रतियोगिता सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना खेल मैदानमा विराट भेट्रान क्लबको आयोजनामा चैत २१ गतेदेखि सञ्चालन भएको थियो ।

फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने कुर्सियोङ लेजेन्ड्सले निर्णायक गोल गरेपछि खेलले थप गति लिएको थियो । बराबरी फर्काउने प्रयासमा दुधे भेट्रानले आक्रामक रणनीति अपनाए पनि गोल गर्न नसक्दा उपविजेतामै सीमित हुनुपर्‍यो ।

उपाधिसँगै विजेता कुर्सियोङ लेजेन्ड्सले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता दुधे भेट्रानले ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ । फाइनल खेलका निर्णायक गोलकर्ता सोनाम चोङ ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने क्रममा कुर्सियोङका सुरज लामा उत्कृष्ट गोलरक्षक घोषित भए भने दुधे भेट्रानका अजेन तुम्बापो उत्कृष्ट डिफेन्डर चुनिए । उत्कृष्ट मिडफिल्डरको उपाधि कुर्सियोङकै बिवन राईले जित्दा उत्कृष्ट फरवार्ड पनि कुर्सियोङका सुदीप राई घोषित भए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार मिल्स भेट्रानका तेजमान लिम्बुले हात पारे भने उत्कृष्ट प्रशिक्षकको उपाधि कुर्सियोङकै विपिन भुजेलले जिते । यी सबै विधाका उत्कृष्ट खेलाडीहरूले जनही नगद ३ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ खेलाडीको रूपमा कुर्सियोङका जेश्नर शाही घोषित हुँदै उनले नगद ५ हजार १ सय रुपैयाँसहित ट्रफी हात पारे ।

प्रतिक्रिया दिनुहोस्