किशोर बुढाथोकी –
विराटनगर – भारतको आगरामा आयोजित एसियन यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली स्वदेश फर्किएको छ ।
प्रतियोगिताको ४६ औँ संस्करण सकिँदा पहिलो पटक सहभागी भएको नेपाली टोली आगराबाट नयाँ दिल्ली, बागडुगरा हुँदै पूर्वी नाका काँकडभित्ताबाट आइतबार राति विराटनगर आइपुगेको हो । प्रतियोगिताका लागि २० खेलाडी सहित २८ सदस्यीय टोली असोज ४ गते भारत गएको थियो । प्रतियोगितामा नेपाल छैटौँ बनेर फर्किएको छ । टोलीले सोमबार बिहान विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको अनुभव र उपलब्धिका बारेमा जानकारी गराएको छ ।
नेपाली टोलीका व्यवस्थापक एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारीले उपाधि रक्षा गर्ने प्रबल सम्भावना हुँदा हुँदै नेपाली टोली पछि परेको बताए । ‘सम्भावनाका बिचबाट हामी छैटौँ बनेर फर्किएका छौँ,’ उनले भने, ‘पहिलो पटक सहभागी भएका कारण पनि यो पोजिसनलाई राम्रै उपलब्धिका रूपमा लिइएको छ ।’ नेपाली टोली भन्दा अन्य मुलुकबाट सहभागी भएका टिम सबै हिसाबमा मजबुत रहेको उनको भनाइ छ । अधिकारीले आयोजकले रेफ्री छनौटमा ध्यान पु¥याउन नसक्दा नेपाल पछि पर्नु परेको पनि बताए । ‘हामी पनि एक हिसाबको तयारी गरेर गएका थियौँ । अन्य टोली ठुलो तयारीका साथ आएका रहेछन्,’ उनले भने, ‘तर आयोजकले फुटबललाई बुझ्दै नबुझेका रेफ्री छनौट गरिदिँदा उपाधिबाट वञ्चित हुनु प¥यो । यसलाई हामीले व्यवस्थापकिय कमजोरीका कारण पछि परेको रूपमा लिएका छौँ ।’
अधिकारीले खेल खेलाउने क्रममा रेफ्रीले गर्ने निर्णयमाथि आपत्ति जनाउँदै आयोजकलाई प्रतियोगितामा सहभागी अन्य देशले पनि गुनासो पोखेको जानकारी पनि दिए । ‘थाईल्याण्ड, इन्डोनेसिया, भारत, चीन जस्ता प्राविधिक र शारीरिक रूपमा बलिया र मजबुत मुलुकसँग नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो,’ उनले भने, ‘तर रेफ्रीको गलत निर्णयको सिकार बन्नु प¥यो ।’ रेफ्रीकै कारण सुरुवातदेखिकै खेल गुमाउँदै गएको उनको भनाइ छ । प्रतियोगिताका लागि अन्य देशले गरेको तयारी नेपालको भन्दा धेरै उत्कृष्ट रहेको भन्दै उनले नेपालका लागि भने तयारी यथेष्ट नभएको बताए । ‘सबै हिसाबबाट उत्कृष्ट रहेका देशसँग खेलेर नेपालले सिक्ने अवसर पायो,’ अधिकारीले भने, ‘नेपालले त्यो स्थितिमा पुग्न धेरै मेहनत गर्नु पर्ने देखियो ।’ प्रतियोगितामा सहभागी मध्ये थाईल्याण्ड, इन्डोनेसिया र चीनसँग नेपालको मैत्रीपूर्ण खेल आयोजना गर्नका लागि वातावरण बनाउन तयारी थालिएको जानकारी उनले दिए ।
नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले भने, ‘प्रतियोगिताका लागि आयोजकले प्रत्येक देशबाट फिफा रेफ्री मगाएको थियो । नेपालबाट मात्रै फिफा रेफ्री गएको पायौँ । अरू देशबाट फिफा रेफ्री नै आएनछन् ।’ उनले आवश्यक परीक्षा लिएर उपयुक्त रेफ्री प्रतियोगिता खेलाउन छनौट गरिनु पर्नेमा आयोजक त्यसमा पनि चुकेको बताए । श्रेष्ठले परीक्षा लिँदा प्राय सबै रेफ्री फेल हुने भएका कारण परीक्षा नलिइकन सहभागी सबै रेफ्रीलाई खेल खेलाउने अवसर दिएको जवाफ आयोजकबाट आएको बताए ।
‘थाईल्याण्ड र इन्डोनेसियासँगको खेल रेफ्रीकै गलत निर्णयका कारण गुमाउनु प¥यो,’ उनले भने, ‘ रेफ्रीले एकपक्षीय खेल खेलाइदिँदा हामीलाई घाटा भयो ।’ उनका अनुसार नेपालले डि बक्स बाहिर फल गर्दा अरूलाई पेनाल्टीको अवसर दिइयो भने अरूले डि बक्स भित्र फल गर्दा नेपाललाई भने फ्रिकिकको मात्रै अवसर दिइएको थियो । श्रेष्ठले खेल भरी आफ्नो निर्णयमा रहन नसक्नु रेफ्रीको कमजोरी रहेको बताए । उनले भने, ‘रेफ्रीले सही निर्णय गरिदिन सकेको भए नेपालले फाइनल खेल्ने कुरामा कुनै दुई मत थिएन ।’
श्रेष्ठले विराटनगरमा एक महिना सम्म गरिएको बन्द प्रशिक्षण लाभदायक भएको पनि बताए । उनले विराटनगरको मौसम प्रतियोगिता आयोजना स्थलको मौसमसङ मिल्दो जुल्दो भएका कारण खेलाडीलाई सहज भएको पनि बताए । आगामी दिनमा पनि कुनै प्रतियोगितामा सहभागिता जनाउन जानु अघि मौसम अनुकूलको बन्द प्रशिक्षण गर्न गराउन सकियो भने त्यसले फाइदा पुग्ने उनको भनाइ छ ।
नेपाली टोलीका कप्तान दिनेश हेन्जनले सोचे भन्दा राम्रो प्रदर्शन गरिएको बताए । ‘सबै टिमसँगको खेल एकदम नै प्रतिष्पर्धात्मक भयो,’ उनले भने, ‘नेपाली खेलाडीलाई अन्तर्रा्ष्ट्रिय खेलको अनुभव लिने मौका पनि मिल्यो ।’ हेन्जनले नेपाली टोलीले अपेक्षा गरे भन्दा उत्कृष्ट प्रदर्शन गरे पनि उपाधिबाट विमुख हुनु पर्दा भने दुःख लागेको बताए । आगामी दिनमा यसरी नै मौका दिँदा नेपाली खेलाडीले अरू मुलुकमा गएर सिक्ने र खेल कौशल बढाउने अवसर पाउने उनको भनाइ छ ।
प्रतियोगितामा थाईल्याण्ड, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, आयोजक राष्ट्र भारत, नेपाल, चीन, श्रीलङ्का, भुटान र अफगानिस्तान गरेर १० वटा देशको सहभागिता रहेको थियो । जसमा थाईल्याण्ड विजेता र इन्डोनेसिया उपविजेता बन्यो ।