बेलबारी उद्योग वाणिज्य संघद्वारा प्रहरी निरीक्षक खत्रीलाई बिदाइ, गिरीलाई स्वागत 


बेलबारी । बेलबारी उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय, बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्ण खत्रीलाई बिदाइ र नयाँ प्रमुख प्रहरी निरीक्षक राजीव गिरीलाई स्वागत गर्दै ‘स्वागत तथा बिदाइ कार्यक्रम’ सम्पन्न गरेको छ।

संघका निवर्तमान अध्यक्ष तथा बेलबारी नगरपालिका–३ का अध्यक्ष योगेन्द्र सुबेदीले कार्यक्रमलाई सम्बोधन गर्दै, प्रहरी निरीक्षक खत्रीको १४ महिनाको कार्यकाल सफल र अनुकरणीय रहेको उल्लेख गर्दै आगामी दिनमा थप प्रगतिका लागि शुभकामना व्यक्त गरे। उनले नव–प्रहरी प्रमुख गिरीलाई कुनै पनि दबाब वा प्रभावमा नपरी शान्ति सुरक्षा कायम गर्न आग्रह गर्दै संघका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए।

बिदाइ क्रममा प्रहरी निरीक्षक कृष्ण खत्रीले आफ्नो कार्यकालमा स्थानीय समुदाय, संघसंस्था तथा सबै पक्षको साथ सहयोगका कारण शान्ति सुरक्षाको वातावरण मजबुत बनाउन सफल भएको बताए। उनले कुनै पनि अनावश्यक दबाब वा प्रभावबिना जिम्मेवारीपूर्वक काम गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरे।

यसै गरी, नव–प्रहरी निरीक्षक राजीव गिरीले बेलबारी क्षेत्रमा काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै, शान्ति सुरक्षा कायम गर्न कुनै कमी कमजोरी नगर्ने प्रतिबद्धता जनाए। उनले स्थानीय निकाय, संघसंस्था र समुदायसँग समन्वय गरेर प्रभावकारी सुरक्षा व्यवस्था गर्ने बताए।

संघका उपाध्यक्ष केशव थापा मगरले संघबारे जानकारी प्रदान गर्दै कार्यक्रमको जानकारी गराए । साथै निरीक्षक खत्रीको कार्यकाल सफल र स्मरणीय भएको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरे। उनले खत्रीले शान्ति सुरक्षामा उत्कृष्ट काम गरेर उदाहरण प्रस्तुत गरेको बताए।

वरिष्ठ उपाध्यक्ष सन्दीप राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, संघका निवर्तमान उपाध्यक्ष, वर्तमान पदाधिकारी, सदस्यलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव विवेक मिश्रले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्