शैक्षिक गुणस्तरको लागि समुदाय परिचालन आवश्यक : मन्त्री घिमिरे


विराटनगर, १५ असार । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई श्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन आवश्यक भएको बताएका छन् ।

समुदायलाई परिचालन गर्न सके विद्यालयका लागि आवश्यक सामाग्री जुटाउन सहज हुने उनले बताए । तीनै तहको सरकारको श्रोतको सीमा हुने भएकाले एकै स्थानमा मात्र बढी खर्च गर्न नसकिने मन्त्री घिमिरेले बताएका छन् । झापाको दमक नगरपालिकाले विद्यालय शैक्षिक गुणस्तर सुधार सम्बन्धीको अनलाइन कार्यक्रममा आज मन्त्री घिमिरेले सो कुरा बताएका हुन । समुदाय परिचालन गर्न सके शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक पर्ने सामाग्री जुटाउनका लागि समस्या नहुने उनले बताए ।

विद्यालयमा समुदाय परिचालन गर्नका लागि सामाजिक विकास मन्त्रालयले पूर्व विद्यार्थी समाज गठनको अवधारणा ल्याएको बताए । उनले भने, ‘पूर्व विद्यार्थी विभिन्न तह र स्थानमा हुन्छन्, उनीहरूलाई परिचालन गर्न सके आवश्यक सामाग्री जुटाउन सहज हुन्छ ।’ उनले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय मितेरी सम्बन्ध कार्यक्रम, इ–एजुकेसनको व्यवस्थापन, पूर्व विद्यार्थी समाज गठन र परिचालन, आमा समूह गठन र परिचालनको काम भइरहेको मन्त्री घिमिरेले बताए ।

प्रविधि मैत्री विद्यालय हुनका लागि शिक्षक पनि दक्ष हुनुपर्नेमा उनले जोड दिएका छन् । शिक्षक दक्ष भए मात्रै विद्यार्थीले दक्षता आर्जन गर्न सक्ने उनले बताएका छन् । प्रविधि मैत्री विद्यालय निर्माण कार्यमा दमक नगरपालिकाले कार्य सुरु गरेकोमा उनले धन्यवाद दिएका छन् ।

प्रदेश १ ले सुरु गरेको अभियानले अन्य प्रदेशमा पनि सिकाइको आधार तयार भएको मन्त्री घिमिरेले बताएका छन् । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार कार्यक्रम सम्बन्धी सामाजिक विकास मन्त्रालयले गरेको काम र उपलब्धिबारे मन्त्रालयका तर्फबाट हिक्मत बस्नेतले प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्