कास्की, १३ असार । धौलागिरी अञ्चलका पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङको ‘लाइफलाइन’ रहेको पोखरा–बाग्लुङ राजमार्गमा यात्रा गर्ने यात्रुले यति बेला सास्ती बेहोर्नु परेको छ ।
राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डको पोखरा महानगरपालिका–२५ याम्दीदेखी घट्टेखोलासम्मको सडक बर्खायाममा हिलाम्मे हुँदा सो लोकमार्ग भएर यात्रा गर्नेले कष्ट भोग्न बाध्य बनेका छन् ।
बन्दाबन्दीले लोकमार्गको काम रोकिदा बर्खामा सडक हिलो र पानीले भरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे समेतको केही वडावासी सोही सडक भएर यात्रा गर्ने गर्दछन् ।
मध्यपहाडी लोकमार्ग विस्तार सुरु भएपछि साबिकको दुई लेनको पक्की कालोपत्रे सडक अहिले भत्काइएपछि ठाउँ–ठाउँमा सडकमा पानी जमेर हिलो हुँदा राजमार्गमा यात्रा गर्नेले हैरानी बेहोर्न बाध्य छन् भने अत्यावश्यक एम्बुलेन्स समेत रोकिने र हिलोमा फस्ने गरेको छ ।
सुइखेतदेखि घट्टेखोलासम्मको दुई किमी सडक अहिले सवारी चालक तथा यात्रुका लागि धराप बनेको र स्तरोन्नतिका लागि विस्तार गरिएको सडकमा पानी पर्न थालेपछि सवारी साधन हिलोमा फस्ने, दुर्घटना हुने र बाटोमा रोकिनुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसका वैकुण्ठ भण्डारी पोखरा आवतजावतका लागि अहिले अन्नपूर्ण गाउँपालिकाको नागडाँडा निस्केर सराङकोट हुँदै जानुपर्ने बाध्यता रहेको बताउँछन् । घर नजिकको लोकमार्ग हुँदै जाँदा आधा घण्टामा पोखरा आउनजान सकिने अवस्था रहे पनि जोखिमपूर्ण र हिलाम्मे सडकमा गाडी चलाउन नसकिने हुँदा एक घण्टाभन्दा बढी समय लाग्ने घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा रहेको बताउँछन् ।
उनले भने, ‘मध्यपहाडीको बाटो अहिले हाम्रा लागि धराप बनेको छ, हिलाम्मे सडकमा मोटरसाइकल र साना चार पाङ्ग्रे सवारी चलाउन सक्ने अवस्था छैन, कतिपय अवस्थामा बाटोमा सवारी साधन छोडेर हिँड्नुपर्ने अवस्था आयो, बर्खामा सो बाटो भएर कुनै पनि यातायात सहज सञ्चालन गर्ने सक्ने अवस्था छैन ।’
पोखरा–२५ हेमजाका माधवशरण पौडेलले अहिलेको सडकको दुरावस्थाका कारण बिरामीलाई अस्पताल पुर्याउन एम्बुलेन्स समेत जान नसक्ने अवस्था रहेको बताए । कास्कीका दुई पालिका र चार जिल्लाको प्रमुख सडकमार्ग खाल्डाखुल्डीसहितको हिलाम्मे हुँदा दुर्घटना बढेको उल्लेख गर्दै उनले भने, ‘अहिलेको सडक निर्माणको कामबाट हामी स्थानीयवासी सन्तुष्ट हुन सकेका छैनौँ ।’
पोखराबाट साविकका धौलागिरी अञ्चलका जिल्ला जोड्ने प्रमुख सडक यात्रा जोखिमपूर्ण हुँदा यात्रुले आक्रोश व्यक्त गर्ने गरेका छन् । मध्यपहाडी लोकमार्गको ३७ किमी लामो कास्की खण्ड तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी तीन भागमा विभाजन गरेर विसं २०७४ असारमा रु दुई अर्व ९३ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।
याम्दीदेखी सुइखेतफाँटसम्म स्वच्छन्द इलाइट जेभीले रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुइखेतदेखी घट्टेखोलासम्म शर्मा एन्ड कम्पनीले रु ९८ करोड १२ लाख ५० हजार ५२९ रुपैयाँ लागतमा कामको जिम्मा पाएका थिए ।
त्यसै गरी घट्टेखोला देखी नयाँपुलसम्मको २६ किमी दुरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग रु ९६ करोड ७४ लाख ११ हजार १०७ मा मध्यपहाडी लोकमार्ग आयोजना पर्वतले ठेक्का सम्झौता गरेको थियो । राजमार्ग छ लेन(३० मिटर) चौडाइ तथा तीन मिटरको डिभाइडर(मेडियन) तथा दायाँ बायाँ दुई–दुई मिटरको नाला निर्माण गरिने सम्झौतामा उल्लेख छ ।
पहाडी क्षेत्रका कारण घट्टेखोलादेखी नयाँ पुलसम्म भने दुई लेन मात्र हुने छ । उच्च प्रविधिको ‘अस्पात कङ्क्रिट’ प्रविधिको माध्यमबाट सडक कालोपत्रे गर्ने सम्झौता भए पनि काममा ढिलाइ हुँदा नागरिकले हैरानी र सास्ती पाएका छन् ।
चालू आवभित्रमा निर्माण सम्पन्न हुनुपर्ने सडकको काम अहिले बन्दाबन्दीका कारणले प्रभावित बनेको छ । त्यसअघि सडक विस्तारमा अधिकांश स्थानमा बिजुली र खानेपानीको पाइप स्थानान्तरण गर्न ढिलाइ हुँदा आयोजनाको भौतिक प्रगति कम भएको दाबी निर्माण कम्पनीको छ ।
घट्टेखोलादेखी नयाँपुलसम्मको सडकमा भने कार्य प्रगति भएको छ । सो सडक खण्डमा अधिकांश स्थानमा कालोपत्रे गरिए पनि याम्दीदेखी घट्टेखोलासम्मको सडक यात्रा कष्टकर छ । हालसम्म बाटो फराकिलो पार्ने, नाली निर्माण तथा सो माथि स्ल्याब, कल्भर्डको निर्माण, आवश्यक ठाउँमा रिटेलिङ्ग वालको काम सकिएको आयोजनाका ईन्जिनियर अनन्त बरालले जानकारी दिए । उनले हालसम्म समग्रमा ७० प्रतिशत हाराहारीमा काम सम्पन्न भएको जानकारी दिए ।
लामो समय बाटोमा हैरानी भोग्न बाध्य बनेपछि शुक्रवार धम्पुस र हेमजाका स्थानीयवासी, जनप्रतिनिधि, आयोजनाका प्राविधिक तथा निर्माण व्यवसायीको छलफलले सडकको तुरुन्त स्तरोन्नति गरी बर्खामा सहज यातायात सञ्चालनको व्यवस्था मिलाउन निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।
छलफलमा निर्माण व्यवसायी राजु रानाभाटले आगामी तीन दिनभित्रमा सडकबाट हिलो हटाएर बाटो सफा गर्ने प्रतिबद्धता जनाए । विगतमा ४६ मजदुरले काम गरे पनि बन्दाबन्दीपछि आधाभन्दा कम मात्र रहेको र मेसिन चलाउने अपरेटरसमेत नपाउने अवस्था रहेको बताउँदै उनले हाल स्थानीयवासी तथा यात्रुले भोग्नु परेको समस्या छ्टिै समाधान गरिने जानकारी दिए ।
लकडाउनले आयोजना सम्पन्न गर्न अझै एक वर्ष थप समय लाग्ने दाबी उनको छ । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले राष्ट्रिय गौरवको आयोजनालाई सुव्यवस्थित रूपमा सम्पन्न गर्नुपर्ने दायित्व निर्माण व्यवसायी, प्राविधिक तथा स्थानीयवासीको रहेको बताउँदै तत्कालीन समस्यालाई तुरुन्त समाधान गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए ।