काठमाडौँ, १२ असार । नेपालमा शुक्रवार थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । थपिएका ५९३ सहित नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
कोसी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङमा २, झापामा १ र सुनसरीमा १०, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ३ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १२, महोत्तरीका ४ र सिरहाका ६, नारायणी अस्पताल वीरगन्जमा धनुषाका ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १, बैतडीका २५, बझाङका ९, बाजुराका २७, बाराका २, दार्चुलाका ३, डोटीका ४६, गोरखाका ५, कैलालीका ३०, कञ्चनपुरका ४२, कपिलवस्तुका ९, रौतहटका ४६ र सल्यानका १ जनाको कोरोना पाइएको छ ।
यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको प्रयोगशालामा गोरखाका १, नवलपरासी पूर्वका २, नुवाकोटका १ र काठमाडौँका ३, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १२, कैलालीका १ र नवलपरासी पूर्वका २१ जनामा कोरोना भेटिएको छ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा गुल्मीका १२, कपिलवस्तुका ८, रौतहटका ५ र सिन्धुलीका ३, वीर अस्पताल काठमाडौँमा रौतहटका ५ र सिन्धुलीका ३, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा कास्कीका २, लमजुङका ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका १, तनहुँका २ र स्याङजाका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ३, गुल्मीका १३, कपिलवस्तुका ४, पाल्पाका ७६, नवलपरासीका १ र रुपन्देहीका ६, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङमा दाङका ७५ र प्युठानका २० जनामा कोरोना भेटिएको छ।
यस्तै, मन्त्रालयका अनुसार सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका ५, जाजरकोटका २, मुगुका १, सल्यानका ३ र सुर्खेतका १२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा जुम्लाका ३ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै शुक्रवार थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २६९८ पुगेको प्रवक्ता गौतमले बताए। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका रसुवा बाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ ।
मृत्यु हुने संक्रमितको संख्या २७ पुग्यो
नेपाल थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। असार ११ गते अचेत अवस्थामा भेटिएकी महिलाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ नजिकै अचेत अवस्था भेटिएकी अन्दाजी २५ देखि ३० वर्ष उनलाई प्रहरीले प्रतिष्ठानमा उपचारका लागि लगेको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जाँचको क्रमको उनको मृत्यु भइसकेको र उनको परिवार समेत सम्पर्कमा नभएकाले खोजी भइरहेको बताए।
यो सँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या २७ पुगेको छ। हालसम्म आइसोलेसनमा ९ हजार ३० जना रहेका छन् ।