काठमाडौँ, ११ असार । कोरोना भाइरसका कारण विभिन्न तीन देशमा समस्यामा परेका ४५९ जना नेपाली आज (बिहीबार) स्वदेश फर्किएका छन् ।
आज कतारु दुबई र कुवेतमा समस्या परेका ४५९ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको हो । कतारबाट उद्धार उडानमार्फत बिहीबार बिहान १५८ जना नेपाली स्वदेश फर्केका छन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको तेस्रो उडानमार्फत तीन जना गर्भवती, सात जना सुत्केरी, दुई नाबालक र १४६ जना पुरुष स्वदेश फर्केका हुन् ।
कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको समय अनुसार बिहीबार बिहान २ बजेर ७ मिनेटमा उडेको हिमालय एयरलाइन्सको विमान नेपालको समय अनुसार ९ बजेर ७ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरूलाई उद्धार उडानमार्फत काठमाडौँ पठाइएको दूतावासले जनाएको छ । उनीहरूलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न दूतावासका प्रतिनिधिहरू पुगेका थिए ।
आबुधाबी र कुवेतबाट काठमाडौँ आइपुगे तीन सय नेपाली
यस्तै दुबईको आबुधावी र कुवेतबाट ३०१ जना नेपाली काठमाडौँ आइपुगेका छन् । युएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना नेपाली काठमाडौँ आइपुगेका हुन् ।
यस्तै कुवेतबाट नेपाल एअरलाइन्सले १४९ जना लिएर काठमाडौँ आइपुगेको छ । आज कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना फर्कने तालिका रहेको छ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना स्वदेश फर्कने छन् ।
कतार एअरवेज कतारको दोहा र एअर अरेबिया युएईको सारजहाबाट नेपाल आउने तालिका रहेको विमानस्थलले जनाएको छ । यस्तै आज नेपाली लिन जहाजहरू विभिन्न ठाउँमा जाने तालिका रहेको छ । आज विमानस्थलमा १३ वटा अन्तर्राष्ट्रिय उडान हुनेछन् ।