नेपालीलाई स्वदेश फर्काउन आज ११ अन्तर्राष्ट्रिय उडान हुने (तालिकासहित)


काठमाडौँ, १० असार । कोरोना महामारीका कारण विदेशमा समस्या भोगिरहेका नेपालीको उद्धार कार्यले तीव्रता पाएको छ ।

विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन आज (बुधवार) ११ अन्तर्राष्ट्रिय उडान हुने भएको छ । आज विभिन्न पाँच ठाउँबाट समस्यामा रहेका नेपाली लिएर जहाज काठमाडौँ आउने छ । यस्तै पाँच ठाउँमा नेपालीलाई लिन जहाज जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ ।

आज कुन देशबाट कति नेपाली स्वदेश फर्किँदै ?

नेपाल एअरलाइन्सको चार्टर्ड जहाज आज साउदीको दमामबाट १५४ नेपाली लिएर आउँदै छ । हिमालय एअरलाइन्सले युएईमा समस्यामा परेका १५४ जना लिएर आउने तालिका रहेको जनाइएको छ ।

यस्तै आजै नेपाल एअरलाइन्सले साउदीकै जेद्दाबाट पनि समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउँदै छ । विमानस्थलले फर्कनेको संख्या भने खुलाएको छैन ।

आजै कुवेतबाट पनि झन्डै १६० जना फर्कन सक्ने बताइएको छ । कुवेतले जजिरा एअरको चार्टर्ड जहाजमार्फत आफ्नै खर्चमा त्यहाँ समस्यामा परेका नेपाली काठमाडौँसम्म ल्याई दिइरहेको छ । इस्तानबुलबाट आज टर्किस् एअरलाइन्सको चार्टर्ड जहाजमार्फत २८० जना फर्कने विमानस्थलले जनाएको छ । यो जहाजले फर्कँदा पनि नेपालबाट २८० जना नै लिएर जाने तालिका तय भएको छ ।

यस्तै आज हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका चार्टर्ड जहाज नेपाली लिन विभिन्न देशमा जाने भएका छन् । हिमालय एअरलाइन्सको जहाज आज राति युएईको आबुधाबी जानेछ भने नेपाल एअरलाइन्सको जहाज साउदीको जेद्दा जानेछ ।

यता कुवेतमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि पनि चार्टर्ड उडान हुने भएको छ । यसअघि त्यहाँ आममाफीमा सहभागीलाई कुवेत सरकार आफैँले निःशुल्क ल्याई दिएको थियो । आफ्नै खर्चमा स्वदेश फर्कने नेपालीका लागि भने नेपाल एअरलाइन्सले पहिलो चार्टर्ड उडान भर्दैैछ ।

आज राति नेपाल एअरलाइन्स कुवेत जाने तालिका रहेको विमानस्थलले जनाएको छ । यस्तै नेपाल एअरलाइन्स जापानको नारिता र हिमालय एअरलाइन्स कतारको दोहा जाने तालिका रहेको छ । दुवै जहाज आज राति त्यसतर्फ प्रस्थान गर्ने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्