काठमाडौँ, ७ असार । १४९ नेपाली बोकेको जहाज कतारको दोहाबाट काठमाडौँका लागि उडेको छ । कोरोना भाइरस संक्रमणका कारण सिर्जना भएको समस्यामा परेकाहरू नेपालीलाई उद्धार गर्ने क्रममा आज (आइतबार) पहिलो चरणको उडान भएको दोहास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
नेपाल एयरलाइन्सको २३९२ को उडानबाट उनीहरू काठमाडौँ प्रस्थान गरेका हुन् । सो उडानमा २९ जना सुत्केरी–गर्भवतीसहित ८२ जना महिला, तीन जना नाबालक र ६४ जना पुरुष रहेको नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत नारदनाथ भारद्वाज, दूतावासका कर्मचारीलगायतले बिदाइ गरेका छन् ।
आबुधाबीबाट १५१ नेपाली बोकेर उड्यो, कोरोनाका कारण ३ जना विमानस्थलमै रोकिए
यस्तै युएईको आबुधाबीबाट १५१ नेपाली बोकेको हिमालय एअरलाइन्सको जहाज काठमाडौँका लागि उडेको छ । एच –९ ५६७२ नम्बरको उडानमार्फत युएईको समयअनुसार आइतबार बिहान ४ बजेर २० मा जहाज काठमाडौँका लागि उडेको हो ।
जहाजमा २ जना नाबालकसहित २६ महिला र १२३ जना पुरुष छन् । नेपाल फर्किनेहरूमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरू रहेका दूतावासले जनाएको छ ।
त्यस्तै केही बिरामी तथा घाइते पनि आजको उडानमा फर्किएका छन् । यूएईबाट फर्किएका सबैको विमानस्थलमा कोरोना परीक्षण गरिरहेको छ । यूएई सरकारले स्वदेश फर्कनेहरूको आरडीटी विधिबाट निःशुल्क परीक्षण गरिदिएको छ ।
आज परीक्षण गरेकामध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरू आजको उडानमा स्वदेश फर्कन पाएनन् । हिमालय एयरलाइन्सले आबुधाबीबाट पहिलो उडान भरेको हो ।
३ वटा उडान अनुमति पाएको एअरलाइन्सले २४ जुनमा दोस्रो र २५ जुनमा तेस्रो उडान भर्ने छ । उडान आबुधाबी विमानस्थलबाट स्थानीय समयअनुसार राति १ बजे हुने हिमालय एअरलाइन्सकी कन्ट्री हेड गीता विष्टले जानकारी दिएकी छिन् ।
आज ५७५ जना नेपाली स्वदेश फर्किँदै
आज यूएईबाट तीन वटा उडान हुँदै छ । आबुधावीबाट हिमालय एयरलाइन्स उडेको छ भने युएईको समय अनुसार ८ बजे फ्लाई दुबई उड्ने जनाइएको छ । १५८ जना बोकेर फ्लाई दुबईले पहिलो उडान भर्न लागेको हो । आइतबार नै नेपाल एअरलाइन्सको दोस्रो उडान हुनेछ ।
स्थानीय समय अनुसार बिहान ११. १० मा नेपाल एअरलाइन्सको वाइडबडीमार्फत उडान हुने नेपाल एयरलाइन्सका युएई प्रमुख टीकाराम पंगेनीले जानकारी दिएका छन् । आज नेपाल एयरलाइन्सको वाइडवडीमार्फत २६६ नेपाली देश फर्किँदै छन् ।