दुबईबाट ९४ जना गर्भवतीसहित १४८ नेपाली बोकेर नेपाल एयरलाइन्स उड्यो


काठमाडौँ, ५ असार । संयुक्त अरब एमिरेट्स युएईको दुबईबाट पहिलो चार्टड विमान नेपालका लागि उडिसकेको छ । ९४ जना गर्भवतीसहित १४८ नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज काठमाडौँका लागि केहीबेर समयअघि उडेको हो । फर्किनेमध्ये १०१ महिला र ४७ जना पुरुष रहेको युएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

उडानमा १० जना विभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ । फर्किनेमध्ये ३ जना जेष्ठ नागरिक समेत रहेका छन् । आज फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नागरिक हुन् । गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी युएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न युएई पुगेकाहरू हुन् ।

आज उडेको विमानमा एक जनाको शव पनि नेपाल पठाइएको छ । गएको चैत २८ गते युएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव नेपाल पठाइएको नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिएकी छिन् ।

दूतावासको समन्वय तथा सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण ढिलै भए पनि समस्यामा परेका नेपालीको उद्धारमा दूतावास लागि परेर काम गरिरहेको र त्यसको नतिजा आजको उडानबाट देखिएको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताएका छन् ।

नेपाल फर्किएकाहरूले नेपाल सरकारले तोकेको ३६० अमेरिकी डलर अर्थात् झन्डै ४० हजार रुपैयाँ तिरेर टिकट काटेका छन् । नेपाल फर्किएका सबैको विमानस्थलमा निःशुल्क कोभिड परीक्षण गरिएको थियो ।

युएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुबई र एयर अरबियाले उडान भर्ने अनुमति पाएका छन् ।

नेपाल एयरलाइन्सको अर्को उडान असार ७ गते आइतबार यूएको समय अनुसार बिहान ११ बजे हुनेछ । पहिलो चरणमा युएईबाट नेपाल एयरलाइन्सले दुई, हिमालय एयरलाइन्स, फ्लाइ दुबई र एयर अरेबियायाले ३–३ वटा उडान भर्ने दूतावासले जनाएको छ ।

साउदीबाट स्वदेश आइपुगे १५४ नेपाली

साउदीको दमामबाट १५४ जना नेपाली काठमाडौँ आइपुगेका छन् । हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको हो पहिलो उडान हो ।

साउदीको दमामबाट हिमालय एअरलान्सले दोस्रो उडान भोलि शनिवार भर्नेछ । या उडानमार्फत स्वदेश फिर्तीका लागि २२६ प्राथमिकतामा परेका छन् । यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्नेछ । यो उडानमार्फत स्वदेश फिर्तीका लागि ४४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्