काठमाडौँ, ४ असार । नेपालमा आज (बिहीबार) एकै दिन अहिलेसम्मकै धेरै ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
तीमध्ये १,१८६ जना निको भएका र २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बिहीबार प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोरोना संक्रमित भेटिएका छन् भने काठमाडौँ उपत्यकामा थप ६ कोरोना संक्रमण देखिएको छ ।
बिहीबार मन्त्रालयले पुष्टि गरेका दुई मृतकमध्ये एक महिला र एक पुरुष छन् । उनीहरू कैलालीका हुन् । तीमध्ये ४६ वर्षीय पुरुषलाई जेठ ३१ गते नै सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालमा भर्ना भएका उनको असार ३ गते बेलुका मृत्यु भएको डा. गौतमले बताउनुभयो ।
त्यसै गरी जेठ ३१ गते टाउकोमा चोट लागी अस्पताल भर्ना भएकी ४३ वर्षीय महिलाको शल्यक्रिया गर्नुअघि असार २ गते परीक्षण गर्न नमुना सङ्कलन गरिएको थियो । तर उनको निधन भएपछि आएको परीक्षणमा उनमा पनि कोरोनाभाइरस देखिएको प्रवक्ता गौतमले जानकारी दिए।
मनाङमा पनि सङ्क्रमित भेटिएपछि ७७ मध्ये ७४ जिल्लामा कोरोना पुगेको पुष्टि भएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,७४६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।