भक्तपुरमा एक प्रहरी जवानसहित तीन जनामा कोरोना संक्रमण पुष्टि


भक्तपुर, ४ असार । महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत एक प्रहरी जवानसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि सञ्चार कक्ष शिल गरिएको छ । उनको सम्पर्कमा रहेका १२ जना प्रहरीहरूलाई क्वारेनटिनमा राखिएको छ ।

चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय एक प्रहरीसहित भक्तपुरमा तीन जनामा बुधवार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । तीनै जनालाई बुधवारै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको छ ।

‘सञ्चार कक्ष हाम्रो सबैभन्दा माथिल्लो तलामा हुन्छ । त्यहाँ काम गर्ने सबैलाई तल–माथि गर्न बन्द गरिएको छ । त्यहीँ खाना सप्लाई गर्ने, ट्वाइलेट पनि त्यहीँकै प्रयोग गर्ने गरी राखिएको छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक थापा भने ।

सञ्चार कक्षमा काम गर्ने प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा बुधवार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसै गरी भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरको नतिजामा ती पुरुषलाई संक्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र शिल गर्ने र सम्पर्कमा रहेकाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

यसअघि गत जेठ ३० गते कुवेत सरकारको आममाफी पाएर स्वदेश फर्किएकी र खरीपाटीस्थित क्वारेनटिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीय युवतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्