तीन सय नेपाली कुवेतबाट काठमाडौँ आइपुगे


काठमाडौँ, २९ जेठ । कुवेतबाट तीन सय नेपाली उद्धारपछि आज (बिहीबार) काठमाडौँ आइपुगेका छन् । उनीहरू एयरबस ए ३२०–२५१ एन दुई जहाजमा तीन सय नेपालीहरू स्वदेश फर्किएका हुन् । नेपाली महिला लिएर जजिरा एयरवेजका जहाजहरू नेपाल आएका हुन् ।

साढे ११ बजे आइपुगेको एयरवेजको पहिलो जहाज काठमाडौँबाट कुवेत फर्किएको छ भने अर्को जहाज भर्खरै त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । उनीहरूलाई नेपाली सेनाले धमाधम प्रदेश अनुसार होल्डिङ सेन्टर लगिरहेको छ ।

त्यसपछि होटेल क्वारेनटिनमा बस्नेलाई होटेलमा र आफ्नो घर फर्कनेलाई सम्बन्धित प्रदेश तथा स्थानीय तहको समन्वयमा पठाइने छ । उनीहरू १४ दिन सरकारले निर्धारण गरेको क्वारेनटिनमा बस्नुपर्नेछ ।

कुवेतले बिना जरिवाना स्वदेश फर्किन पाउने गरी अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखिएका नेपालीलाई आफ्नै खर्चमा दैनिक दुइटा विमानमार्फत नेपाल पठाउन नेपाल सरकारसमक्ष प्रस्ताव राखेको थियो ।

अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ नेपाली छन् । तीमध्ये १ हजार ६ सय ८८ पुरुष र १ हजार ३ सय ३ महिला छन् । कुवेत सरकारका अनुसार यी सबै नेपाली नेपाल फर्काउन कम्तीमा २० उडान गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्