धनुषाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतभित्रै एक युवकको मृत्यु


धनुषा, २८ जेठ । धनुषाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतभित्रै एक युवक मृत फेला परेको विषयलाई लिएर स्थानीयले प्रहरी कार्यालयमा ढुङ्गामुढा गर्नुका साथै सडक अवरुद्ध पारेका छन् । प्रहरी हिरासतभित्रै सबैला नगरपालिका–१२, बरकुर्बाका २३ वर्षीय शम्भु सदा झुन्डिएको अवस्थामा मृत फेला परेपछि स्थानीयले प्रहरी चौकीमा ढुङ्गा मुढा गरेका हुन् ।

घटना छानबिनको माग गर्दै स्थानीयले प्रहरी कार्यालयमा ढुङ्गा मुढा गर्नुका साथै प्रहरी भ्यान समेत तोडफोड गरेका छन् । अहिले आन्दोलित स्थानीयले बरकुर्बा सडक बन्द गरेर विरोध प्रदर्शन गरिरहेका छन् ।

सदा मङ्गलवार बिहान २ बजे शौचालयमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । मृतक ट्याक्टर चालक हुन् ।

सवारी दुर्घटना मुद्दामा यही जेठ १२ गते उनलाई पक्राउ गरी हिरासतमा राखिएको थियो ।
सदाले किन आत्महत्या गरे भन्ने विषयमा अहिलेसम्म केही कारण खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्