एलएन गच्छदार – सुन्दरहरैंचा,२६ जेष्ठ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा पुर्वान्चल विश्वविद्यालय गोठगाँउलाई नसमेटेर कोभिड अस्पतालको संज्ञा दिएर कोरोना संक्रमित थुपार्ने काम गरेको जनगुनासो आउँदा प्रदेश सरकारको ध्यान जान सकेको छैन ।
प्रदेश १ सरकारको टाडिमा रहेको क्वारेनटिन हावाहुरीले प्रभाव पारे पछि ८०५ बिघा क्षेत्रफलमा फैलिएको सुन्दरहरैंचा नगरपालिका गोठगाउँमा रहेको पुर्वान्चल विश्वविद्यालयमा गत वैशाखदेखि प्रदेश १ स्तरीय क्वारेनटिन सञ्चालन भएको छ ।
अहिले सो क्वारेनटिनलाई कोभिड अस्पतालको नाम दिएर २ सय बेडको कोभिड अस्पताल सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारको तर्फबाट विज्ञ टोलीको समेत अनुगमन भएको थियो । यस अघि पनि खाली रहेको भवनलाई प्रयोग गर्न प्रदेश सरकारका मुख्यमन्त्री सहितको टोलीको अनुगमन भए पनि पुर्वान्चल बिश्वबिधालयलाई प्रदेशको नीति तथा कार्यक्रममा समेट्न सकेन ।
सुन्दरहरैंचाका कोभिड १९ कै लागि जोखिम पत्रकारिता गर्ने पत्रकारहरूले यस विषयमा बुझ्दा कोभिड अस्पताल सञ्चालन गर्न विज्ञ टोलीले समेत उपयुक्त रहेको सुझाव दिए पनि अहिले नाम मात्रको कोभिड अस्पताल भएको छ । कोरोना संक्रमित बिरामी राख्न मात्र प्रयोग भएको रोशन उप्रेती पुर्वान्चल विश्वविद्यालय सिनेट सदस्य बताउँछन् । उप्रेतीले भने, ‘पुर्वान्चल विश्वविद्यालयले आफ्ना भवनहरू उपलब्ध त गराए तर यसमा कोभिड अस्पतालको नाममा डम्फिङ्ग साइडको रूपमा मात्र लिएको हो कि ?’
स्थानीय सरकारसँग समेत समन्वय र परामर्श नगरी कोभिड अस्पताल निर्माण गरेर एउटा भेन्टिलेटर समेत उपलब्ध नभएको प्रदेश सरकारले गैरजिम्मेवारी काम गरेको, प्रदेश १ सदस्य तथा विश्वविद्यालयका सिनेट सदस्य लोक प्रसाद संग्रौलाको आरोप रहेको छ । नीति तथा कार्यक्रममा समेत प्रदेश सरकारको ध्यान केन्द्रित नहुँदा पुर्वान्चल विश्वविद्यालयलाई संक्रमित थुपार्ने खतरा जोनको रूपमा लिएको र भोलिका दिनमा संक्रमित बिरामी केही भएमा प्रदेश सरकार जबाफदेही हुनु पर्ने संग्रौलाले बताए ।
कोभिड अस्पताल सञ्चालनले यस क्षेत्रमा दीर्घकालीन रूपमा सहयोग र आशाको भावना जागेको थियो तर प्रदेश सरकारले भने नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई नसमेटिँदा सुन्दरहरैंचा नगरपालिका गुनासो रहेको छ । अहिले कोभिड अस्पतालको संज्ञा दिए पनि संक्रमितलाई राख्ने र बिरामीलाई सारो गाह्रो भएको बेला बिपी प्रतिष्ठान धरान र कोभिड अस्पताल विराटनगर रेफर गर्ने अवस्था छ ।
पुर्वान्चल विश्वविद्यालयमा प्रदेश सरकारकै वक्र दृष्टिका कारण ओझेलमा परेको सुन्दरहरैंचाका प्रमुख शिव प्रसाद ढकाल बताउँछन् । मेयर ढकालले पुर्वान्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न सुन्दरहरैंचाले पहिलो इँटाको रूपमा लिएको र साधन स्रोत बिना प्रदेशका संक्रमित बिरामी थुपार्ने काम नगर्न समेत प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
पर्याप्त भौतिक पूर्वाधार सम्पन्न भवनहरू निर्माण भएता पनि मेडिकल कलेज सञ्चालन र केन्द्रीय कार्यालय सञ्चालन देखि विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको पुर्वान्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न प्रदेश सरकार तथा सङ्घीय सकरकाको ध्यान केन्द्रित हुन नसकेको स्थानीयको पनि गुनासो रहेको छ ।