काठमाडौँ, २५ जेठ । सरकारले लकडाउन खुकुलो बनाउनका लागि नयाँ मोडालिटी तयार गरेको छ । यसअघि ६ चरणमा लकडाउन खुकुलो बनाउँदै आएको सरकारले थप छलफल र बहस गर्दै १० चरणमा लकडाउन खुकुलो बनाउने नयाँ मोडालिटी तयार गरेको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको कोभिड–१९ (नोबल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर (आज) आइतबार मन्त्रिपरिषदमा पठाउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । लकडाउनको मोडालिटीलाई अन्तिम रूप दिन आजै साँझसम्म मन्त्रिपरिषद् बैठक बस्न सक्ने उच्च स्रोतको भनाइ छ ।
जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तय गर्ने जिम्मेवारी दिएको थियो । क्याबिनेटले निर्देशन दिएको ८ दिनपछि बल्ल उच्चस्तरीय समितिले लकडाउनलाई चरणवद्धरुपमा खुकुलो बनाउने १० चरणको नयाँ मोडालिटीलाई अन्तिम रूप दिन लागेको हो ।
यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई परिमार्जन गर्दै १० चरणको नयाँ मोडालिटी अघि बढाएको हो। तीन फरक मोडालिटीमा ६ चरणमा लकडाउन खुकुलो बनाउँदै जाने, संक्रममणको आधारमा क्षेत्रहरूलाई रङ्गमा विभाजित गर्ने र सुरक्षा पद्धति अपनाउँदै खुला गर्ने तथा आवश्यकता अनुसार लकडाउनलाई खुकुलो बनाउँदै जाने थियो ।
सरकारले असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनको लागि लकडाउनलाई खुकुलो बनाउन मोडालिटी ल्याउन लागेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने मोडालिटीको विषयमा शनिवार छलफल गरेको थियो ।
समितिले शनिवार पहिलो चरणमा छलफल गरेको थियो । समितिले १० चरणको मोडालिटीलाई अघि बढाएर लकडाउनलाई खुकुलो बनाउन छलफल गरेको स्रोतले जानकारी दिएको छ । समितिले आइतबार पनि लकडाउनको मोडालिटीको विषय छलफल गर्ने छ र सहमति भए, मन्त्रीपरिषद्लाई सिफारिस गर्नेछ ।
यसअघि जेठ २२ गते बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो । तर, सो बैठकमा उच्चस्तरीय समितिले लकडाउनको मोडल प्रस्तुत गर्न सकेन ।
सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकिरहेकै बेला काठमाडौँलगायत विभिन्न सहरमा जनस्तरबाटै लकडाउनलाई खुकुलो बनाउने क्रम सुरु भइसकेको छ । आइतबार पनि काठमाडौंमालगायतका सहरमा अधिकांश पसलहरू खुलेका छन् । सडकमा सवारी साधन बाक्लिएका छन् । वीरगन्जमा स्थानीय प्रशासनले आफैले निर्णय गरेर लकडाउन खुकुलो बनाएका छन् । जसका कारण बजारमा चहल पहल बढेको छ ।
लामो समयदेखि जारी लकडाउनका कारण सर्वसाधारण नागरिकको जनजीवन कष्टप्रद बन्दै गएको छ । लकडाउन नखुल्दा देशभरको व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, रोजगारीका क्षेत्र ठप्प छन् ।