बझाङमा ६ जनामा कोरोना संक्रमण पुष्टि


बझाङ, २४ जेठ । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरूमा ७०, ५७, ३८, २५ वर्षीय पुरुष र दुई जना ४० वर्षिया महिला रहेका छन् । उनीहरूमध्ये ५ जना भारतको दिल्लीबाट एक साताअघि स्वदेश फर्किएको डा.मिलन खड्काले जानकारी दिए ।

दुई दिनअघि उनीहरूसँगै रहेका २० जनाको नमूना स्वाब संकलन गरिएको थियो । नमूना स्वाब संकलन गरिएका २० मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै बझाङमा कोरोना संक्रमित संख्या ७ पुगेको छ । संक्रमितमध्ये एक जनाको उपचार जारी छ ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमितहरूलाई खप्तडछान्ना गाउँपालिकाले बनाएको आइसोलेसनमा राखिने छ । खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकायाका अनुसार हाल खप्तडछान्ना गाउँपालिका भर ३५० जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्