काठमाडौँ, २३ जेठ । एयर अरेबियाको जहाज १६८ नेपाली लिएर काठमाडौँ आएको छ । कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरेबियाको जी नाइन १७९१ नम्बरको जहाज आएको हो ।
नेपाली दूतावास र एयरलाइन्सबिच समन्वय नहुँदा जहाज उडानमा ढिलाइ भएको थियो । केही घण्टा अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण भइसकेको छ ।
दूतावासले आफूले तयार पारेको सूची अनुसारका यात्रु लैजानु पर्ने बताए पनि एयरलाइन्सले त्यहाँका कम्पनीको सूची अनुसारका यात्रुलाई लैजाने तयारी भएपछि ढिलाइ भएको जनाइएको छ ।
उनीहरूलाई अब विमानस्थलबाट प्रदेश अनुसार तयार गरिएको होल्डिङ सेन्टरमा लगिने जनाइएको छ । होल्डिङ सेन्टरसम्म लैजाने र विवरण लिएपछि सम्बन्धित प्रदेशको जिम्मा लगाइनेछ । हरेक प्रदेशका लागि मन्त्रीलाई समन्वयको जिम्मा दिइएको छ । आजै म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किएका छन् ।