काठमाडौं, २२ जेठ । कोरोना भाइरसका कारण पाल्पाका एक जनाको मृत्यु भएको छ । जेठ २० गते उनको उपचारकै क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको हो । पाल्पा पूर्वखोलाका ४५ वर्षका पुरुष पाँचदिनअघि भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएका थिए ।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पाल्पाको मिसन अस्पतालमा लगिएको थियो । सोही अस्पतालमै उनको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनका अनुसार मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको थियो । अहिले उनको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १० पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै धेरै ३३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३४ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ६३४ पुगेको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप ३३४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।
पछिल्लो रिपोर्टअनुसार कर्णाली प्रदेश र प्रदेश २ का सबैभन्दा बढीमा कारोना पुष्टि भएको हो । पछिल्लो २४ धण्टामा १२ जना डिस्चार्ज भएका छन् । योसँगै २९० जना कोरोनालई जितेर घर फर्केका छन् । जसमध्ये २३४ पुरुष रहेका छन् भने ५६ जना महिला रहेका छन् ।
विराटनगर गरिएको परीक्षणमा १ जना पोजिटिभ, नारायणी अस्पतालमा १, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८, हेटौँडामा गरिएको परीक्षणमा १२ जना, पोखरामा १६ जना, सेती अस्पतालमा ३ जना, भेरी अस्पतालको प्रयोगशालामा ४२ जना, धुलिखेल अस्पतालमा १७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जना, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा १०६, कोशी अस्पतालमा ५ जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले बताए ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा तीन हजार ८६७ वटा नमुना संकलन गरेर परीक्षण गरिएको उनले जानकारी दिए । १ लाख ६१ हजार २६२ जना आज क्वारेन्टाइनमा रहेका छन् ।
हालसम्म देशभर पीसीआर विधिबाट ८४ हजार १३४ जनाको कोरोना परीक्षण गरिएको छ । त्यसैगरी एक लाख २५ हजार ५६४ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ । देशभरका विभिन्न अस्पतालका आइसोलेनसमा दुई हजार ३३५ कोरोना संक्रमितको उपचार भइरहेको छ ।