एकै दिनमा आज थप १८९ कोरोना संक्रमित थपिए : नेपालमा संक्रमित संख्या १४०१ पुग्यो


काठमाडौँ, १७ जेठ । नेपालमा एकै दिनमा आज (शनिवार) थप १८९ कोरोना संक्रमित थपिएका छन् । एकै दिनमा आज थपिएको संक्रमित सङ्ख्या अहिले सम्मकै नेपालमा सबैभन्दा धेरै हो ।

योसँगै नेपालमा संक्रमित सङ्ख्या एक हजार ४०१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । संक्रमितमध्ये चार महिला र १८५ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा २५७५ जनाको पिसिआर परीक्षण गरिएको छ । ती परीक्षणका क्रममा देशका विभिन्न जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । नेपालमा हालसम्म सबैभन्दा धेरै संक्रमित थपिएका आज नै हो । शुक्रवार १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

नेपालमा कुल संक्रमितमध्ये हालसम्म ६ जनाको ज्यान गइसकेको छ । संक्रमण देखिएकामध्ये २१९ जना उपचारपछि निको भइसकेका छन् । आज १३ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या २१९ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्