एक हप्ताअघि अन्त्येष्टि गरिसकिएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि


वीरगञ्ज, १२ जेठ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई एक हप्ताअघि अन्त्येष्टि गरिसकिएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपचारका क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिएका छन् । वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने केही जानकारी दिएको छैन ।

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । मृतक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएका कारण नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी भइरहेको बस्नेतले बताए ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए । तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो । अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्